कांग्रेस बाघ हो, सुतिरहेको बेला नजिस्काउनु : शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चितवनको नारायणगढमा भएको विरोध सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस बाघ हो भन्दै नजिस्काउन चेतावनी दिनु भएको छ ।
अधिकांश समय सरकारको आलोचनामा समय खर्चेका कांग्रेस प्रवक्ता शर्माले सुतेको बाघलाई जिस्काउन आउनेहरुको हालत नराम्रो हुने संकेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘जिस्काउन जो आयो, त्यो गयो ।’ सभामा उहाँले तत्कालीन राजा महेन्द्रलाई पल्टाउने कांग्रेसलाई कमजोर नठान्न पटकपटक चेतावनी दिनुभएको थियो । प्रवक्ता शर्माले भन्नुभयो, ‘ओली सरकारले नेपाललाई उत्तर कोरिया बनाउन खोजे नेपाली कांग्रेस स्पात भएर उभिन्छ, हामी कुनै हालतमा उत्तर कोरिया हुन दिने छैनौँ ।’
उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘नेपालको इतिहासमा कांग्रेस पार्टी कुनै बेला चुनाव हारेको छ, कुनै बेला जितेको छ, हारजित ठूलो कुरो होइन, तर तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र सुशीलप्रसाद कोइरालाको अस्पतालबाट किन नाम हटाउन खोजिरहेको हामी यो सोधिरहेका छौँ ?’ नेपाली कांग्रेस सरकारमा हुँदा मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘आज कम्युनिष्टको सरकार बन्यो भन्दैमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम मेटाउन खोज्ने ? यस्तो स्थिति आयो भने, महेन्द्रलाई ढाल्ने कांग्रेस ओली सरकारलाई बाँकी राख्ला ? राख्ने छैन ।’
उहाँले भन्नुभयो, ‘आफैँले बनाउने भनिएको बुढीगण्डकी परियोजनालाई किन ओली सरकारले चीनको गेजुवा कम्पनीलाई दियो ? कम्युनिष्टमा भोट हाल्नेहरुले ओली सरकारलाई सोधेका छैनन् भने सोध्नूस ।’ उहाँले दुई तिहाइको दम्भ देखाएर कांग्रेसलाई ठीक पार्छु भनेर नसोच्न समेत चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुईतिहाइ त हिटलरसँग पनि थियो, हिटलरको अवस्था के भयो, थाहा होला ।’
गोविन्द केसीले अनसनमात्र तोड्नु भएको बताउँदै प्रवक्ता शर्माले भन्नुभयो, ‘उहाँले मुद्दा छोड्नु भएको छैन, विवेक नभएको सरकारको अगाडि बाँसुरी बजाएर बस्दिन भनेर अनसन छोड्नु भएको हो ।’ प्रवक्ता शर्माले निर्मला पन्तको हत्यारालाई समात्न ओली सरकारलाई कसले रोक्यो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्दोषलाई अपराधीको बुर्का लगाएर सरकारले फँसाउन खोजिरहेको छ, निर्मलाको हत्यारा पत्ता लगाउन नसके माफ माग्दै भन्नुप¥यो, हामीले सकेनौँ भनेर ।’
प्रवक्ता शर्माले दुईतिहाइको मेहन्दी लगाउन मधेसवादी दल सरकारमा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधनको माग गरिरहेका मधेसका युवाहरुलाई अहिले मधेसवादी पार्टीहरुले नै लात हानिरहेका छन् ।’ वृद्धभत्ता मासिक ५ हजार बनाउँछु भन्ने सरकारले अर्को चुनाव आउने बेला ५ हजार बनाउने उहाँको भनाइ थियो ।
महँगी, हत्या, हिंसा, बलात्कारका श्रृंखला बढिरहेको बताउँदै उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘हाम्रो पालामा सुका माना घिउ थियो, अहिले त्यो खोजेर कहाँ पाइन्छ भन्नुहुन्छ हाम्रा प्रधानमन्त्री, तपाइँहरुले भोट दिनु भएको यही सुुन्न हो ?’ उहाँले उत्तर कोरियाको टाँगा चढेर स्वीजरल्याण्ड नपुगिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ओली सरकार, उत्तर कोरियाको टाँगामा चढेर स्वीजरल्याण्ड पुगिन्न ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया