‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
नुवाकोट । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रबाट आएको विनाशकारी बाढीबाट प्रभावित १२ वटा स्थानीय तहमध्ये नुवाकोटको तारकेश्वर गाउँपालिका पनि परेको छ ।

बाढीका कारण यो गाउँपालिकामा पनि ठूलो भौतिक क्षति भएको छ । बाढी कारण पक्की पुलहरू बग्नुका साथै यातायातका मुख्य मार्गहरू पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टपूर्ण अवस्थामा छ ।
अहिले जोखिममा परेकाहरूलाई सुरक्षित स्थानमा सार्नु मुख्य चुनौती देखिएको छ ।
’अहिले राहतभन्दा पनि बाटोघाटो खुलाउनु र जोखिममा परेका बस्तीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नु मुख्य चुनौती बनेको छ,’ बाढीपछिको अवस्था, उद्धार, राहत तथा पुनर्नर्माणका विषयमा क्लिकमान्डुसँग कुराकानी गर्दै तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले भने ।
बाढीले बस्ती कटान गर्दा ३३ परिवारलाई स्थायी स्थानान्तरण गर्नुपर्ने भएको र यसमा पालिकाको प्रयासले मात्र केही गर्न नसक्ने बताए ।
‘गाउँपालिकाले अस्थायी रुपमा ३३ परिवारको स्थानान्तरण गरेको भए पनि दीर्घकालीन रुपमै गर्नुपर्ने यो समस्याको समाधानमा भने प्रदेश र संघीय सरकारले नै साथ दिनुपर्छ । स्थानीय तहको क्षमताले अहिले जति गरेका छौं यो भन्दा धेरै भ्याउँदैन,’ उनले भने ।
बाढीका कारण तारकेश्वर गाउँपालिकामा मानवीय क्षति भने धेरै हुन नपाएको उनी बताउँछन् । पालिकाका एक जना वेपत्ता भए पनि बाढीले गाउँपालिकाभित्रका १० वटा घर पूर्ण रूपमा बगाएको र दुईवटा बस्ती नै सार्नुपरेको कारण यसको समाधानमा लाग्नुपर्ने चुनौती थपिएको उनले बताए ।
बाढी र पहिरोको जोखिम बढेपछि गाउँपालिकाले नेपाल प्रहरी र स्थानीयको सहयोगमा जोखिममा रहेका दुईवटा बस्ती (तारकुघाट र दर्शनटार)का करिब ३३ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । अझै पहिरो खस्ने क्रम जारी रहेकाले विस्थापितहरूलाई छिमेकी तथा आफन्तको घरमा अस्थायी रूपमा राखिएको अध्यक्ष अधिकारीले बताए ।
उनले विपद्को यो समयमा संघीय सरकारको सहयोग प्रभावकारी हुन नसकेको गुनासो समेत गरे । ‘संघीय सरकारको केही पनि सहयोग पाएको अवस्था छैन । बरु प्रदेश सरकार र जिल्ला समन्वय समितिसँग प्रभावकारी समन्वय भइरहेको छ,’ उनले भने ।
सरकारले पठाउने थोरै परिमाणको राहत (चाउचाउ र केही बोरा चामल) गाउँपालिका आफैंले पनि व्यवस्थापन गर्न सक्ने भन्दै उनले बस्ती नै सार्ने गरि संघीय सरकारले तत्काल कदम चाल्नु पर्ने बताए । आफ्नो पालिकामा ढुवानीका लागि सडक पूर्वाधार प्राथमिकतामा रहेको उनको भनाइ छ ।
सडक बिग्रेका कारण गाडी भाडा दोब्बर/तेब्बर बढेको, कालोबजारी फस्टाएको र सामानको मूल्य अत्यधिक महँगो भएको हुँदा सरकारले यसको नियन्त्रण र अनुगमनमा ध्यान दिनुपर्ने तर्क तारेकेश्वर गाउँपालिका अध्यक्ष अधिकारीको छ ।
अहिले सरकारले जे जति स्रोत पठाएको छ त्यो सबै गाउँपालिकाले अवरुद्ध सडक सञ्जाल खुलाउने र पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकता साथ लगाउन थालेको छ । तर एउटाबाट अर्को बस्ती जोड्नुपर्ने, बाढीले बगाएका बाटो बनाउनुपर्ने, साघुरो भएका बाटोलाई चौडा गर्नुपर्नेसहित त्रिशूली, किस्पाङ, मेगाङ, तारकेश्वर हुँदै धादिङ जोड्ने वैकल्पिक सडकलाई बनाउन ठूलो बजेट खर्च गर्नपर्ने अवस्था रहेको पनि अधिकारीले बताए ।

यहाँको बाटो चौडा गर्ने, ग्राभेल गर्ने र सञ्चालनयोग्य बनाउने काम भइरहेको र तत्कालका लागि यातायात सहज बनाएर जनजीवन सामान्यतर्फ फर्काउन पूर्वाधार मर्मतमै गाउँपालिका केन्द्रित भएको पनि अधिकारीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै 





प्रतिक्रिया