नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट । प्रतिनिधि सभा क्षेत्र नं. १ मा आगामी निर्वाचनको अंकगणितीय चित्र हेर्दा यसपटक प्रतिस्पर्धा नयाँ मोडतर्फ उन्मुख देखिएको छ ।

२०७९ सालको निर्वाचन परिणाम, समानुपातिक मतको अवस्था, पछिल्लो समय बढ्दो पार्टी प्रवेश र स्थानीय राजनीतिक असन्तुष्टिलाई जोडेर हेर्दा बद्री मैनाली अहिलेको समीकरणमा अगाडि देखिएका छन् भन्ने चर्चा तीव्र बनेको छ ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार मैनालीले २३ हजार ४६३ मत प्राप्त गरेका थिए । पाँच दलीय गठबन्धनका उम्मेदवार हितबहादुर तामाङ ले २६ हजार ५४८ मत ल्याएर जित हात पारे पनि मतान्तर झण्डै तीन हजार मात्र थियो । बहुदलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दा पनि एमाले उम्मेदवारको मत उल्लेख्य रहनुले व्यक्तिगत प्रभाव र संगठनात्मक बल दुवै स्पष्ट देखाएको विश्लेषण गरिन्छ ।
समानुपातिकतर्फ नेकपा (एमाले) ले १६ हजार २६७ मत ल्याएको थियो भने प्रकाशशरण महत आबद्ध नेपाली काँग्रेसले १५ हजार ७५१ र माओवादी केन्द्रले १५ हजार १२७ मत पाएको थियो । यसले क्षेत्र नं. १ मा एमालेको संरचनागत आधार बलियो रहेको संकेत दिएको थियो । त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी ले करिब ६ हजार मत ल्याएको थियो । आगामी निर्वाचनमा त्यो संख्या बढ्न सक्ने आकलन भइरहँदा यसको प्रत्यक्ष असर परम्परागत दलहरूको मतमा पर्ने राजनीतिक विश्लेषण छ ।
पछिल्लो समय नुवाकोट–१ मा विभिन्न दल परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेको संख्या १ हजार ६ सय २७ पुगेको दाबी गरिएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा अन्य दलका जिम्मेवार व्यक्तिहरू एमाले प्रवेश गरेका छन् ।

बहालवाला वडा अध्यक्षदेखि जेन–जी पुस्ताका युवा र विद्यार्थीसमेत पार्टीमा जोडिनुले संगठन थप बलियो बनेको एमालेको दाबी छ । एकल प्रतिस्पर्धाको अवस्था बनेमा यसले मैनालीलाई प्रत्यक्ष फाइदा पुग्ने आँकलन गरिँदैछ ।
को हुन् बद्री मैनाली ?
२०५१ सालदेखि सक्रिय राजनीतिमा लागेका बद्री मैनाली संगठनको तल्लो तहबाट क्रमशः माथि उक्लिएका नेता हुन् । उनी कुनै आकस्मिक रूपमा उदाएका पात्र होइनन्, बरु वर्षौंदेखि जनसम्पर्क, संगठन विस्तार र कार्यकर्ता परिचालनमा सक्रिय रहेका अनुहार हुन् ।
शिक्षा तथा मानवस्रोत विकास विभागको केन्द्रीय सदस्य, क्षेत्रीय उपाध्यक्ष, जिल्ला उपाध्यक्ष हुँदै हाल दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । पार्टीभित्र निरन्तर जिम्मेवारी पाउनु उनको संगठनात्मक स्थिरता र आन्तरिक विश्वसनीयताको संकेत मानिन्छ ।
२०७४ सालमा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएपछि उनले ४८ दिनका लागि कृषि राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । छोटो समय भए पनि सिँचाइ विस्तार, किसान अनुदान, आधुनिक उपकरण र उत्पादन वृद्धिसँग सम्बन्धित योजनामा उनले देखाएको सक्रियताले कृषि क्षेत्रप्रति उनको प्राथमिकता स्पष्ट पारेको समर्थकहरूको भनाइ छ । नुवाकोटजस्तो कृषि प्रधान जिल्लाका लागि यो अनुभवलाई धेरैले महत्वपूर्ण आधारका रूपमा हेर्ने गरेका छन् ।
अढाई दशकको निरन्तरता र उठ्दो प्रश्न
२०५६ सालदेखि नुवाकोट–१ मा नेपाली काँग्रेस र तत्कालीन माओवादी केन्द्र (हाल नेकपा माओवादी केन्द्र) ले पालैपालो वा गठबन्धनमार्फत प्रतिनिधित्व गर्दै आएका छन् । पटक–पटक प्रतिनिधित्व हुँदा पनि कच्ची सडक, सिँचाइ अभाव, सीमित उद्योगधन्दा, रोजगारीको कमी र युवाको वैदेशिक पलायनजस्ता समस्या ज्यूँका त्यूँ रहेको गुनासो सार्वजनिक रूपमा उठ्न थालेको छ ।
विद्यालय, स्वास्थ्य संस्था र बजार पूर्वाधारमा सुधार भए पनि अपेक्षित स्तरको रूपान्तरण नदेखिएको धेरैको धारणा छ । “यत्रो वर्ष प्रतिनिधित्व हुँदा पनि किन व्यापक परिवर्तन भएन ?” भन्ने प्रश्न अहिले चिया पसलदेखि सार्वजनिक मञ्चसम्म सुनिन थालेको छ ।
लगातार प्रतिनिधित्व गरेका नेताहरूप्रति पनि आलोचना बढ्दो छ । हितबहादुर तामाङले तेस्रो पटकसम्म प्रतिनिधित्व गर्दा पनि उल्लेखनीय रूपान्तरण नदेखिएको आरोप लाग्ने गरेको छ । अर्थ मन्त्रालयको नेतृत्व गरिसकेका प्रकाशशरण महत र उनका दाजु रामशरण महत माथि पनि जिल्लालाई अपेक्षित प्राथमिकता नदिएको असन्तुष्टि सुनिने गरेको छ ।
पराजयपछि पनि निरन्तर सक्रियता
२०७९ मा झिनो मतान्तरले पराजित भए पनि मैनालीले क्षेत्र नछोडी सक्रियता कायम राखेका छन् । गाउँ–टोलमा पुग्ने, समस्या सुन्ने, सम्बन्धित निकायमा पहल गर्ने र व्यक्तिगत रूपमा सहयोग गर्ने शैलीले उनलाई “सधैं भेटिने नेता” को छवि दिएको समर्थकहरूको दाबी छ । युवा, तटस्थ र पहिलोपटक मतदान गर्ने मतदातामाझ पनि उनले पहुँच विस्तार गरिरहेका छन् ।
राजनीतिक अंकगणितका आधारमा यदि एमालेको आधार स्थिर रह्यो, नयाँ मत थपिए र परम्परागत दलहरूबीच मत विभाजन बढ्यो भने यसपटक परिणाम फरक आउन सक्ने सम्भावना बलियो देखिन्छ । मैनाली स्वयंले कम्तिमा तीन हजार मतान्तरले जित्ने दाबी गरेका छन् ।
२०५६ सालयता प्रतिनिधि सभा नजितेको इतिहास बोकेको एमालेका लागि नुवाकोट–१ चुनौतीपूर्ण क्षेत्र रहँदै आएको छ । तर यसपटक जनमनोविज्ञानमा देखिएको परिवर्तनको चाहना, संगठनात्मक तयारी, बढ्दो पार्टी प्रवेश र विगतको झिनो मतान्तरलाई आधार मान्दा अढाई दशकको निरन्तरता तोडिने सम्भावनाबारे चर्चा तीव्र बनेको छ ।
अन्ततः निर्णय मतदाताकै हातमा हुन्छ । तर बदलिँदो राजनीतिक वातावरण र स्थानीय स्तरमा उठिरहेको प्रश्नलाई समेट्दा नुवाकोट–१ मा यसपटक नयाँ इतिहास लेखिने संकेत देखिएको राजनीतिक विश्लेषण बलियो बन्दै गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया