कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर

विदुर खबर २०८२ पुष २९ गते ८:४२

नुवाकोट । नेपाली कांग्रेसभित्र देखिएको राजनीतिक गतिरोध अन्त्य हुन सकेको छैन ।

Advertisement

काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन र संस्थापन पक्षको छुट्टाछुट्टै भेला चलिरहँदा पार्टी विभाजनको जोखिम टार्न वरिष्ठ नेता डा. शेखर कोइरालाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन् ।

विशेष महाधिवेशनलाई संस्थापन पक्षले ‘अवैधानिक’ भनेपछि भृकुटीमण्डपमा सहभागी नेताकार्यकर्ताले महामन्त्री गगन थापालाई अन्तरिम सभापति घोषणा गर्ने तयारी गरिरहेका थिए । यही संवेदनशील मोडमा पार्टी विभाजन हुन नदिन कोइरालाले सक्रिय पहल थालेका थिए ।

Advertisement

भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरूले संस्थापन पक्षलाई ‘पेलेर’ अघि बढ्न सुझाव दिए पनि पार्टी फुट्ने जोखिम देखिएपछि नेताहरू मध्यमार्गी बाटो खोज्न बाध्य देखिन्छन् । नयाँ केन्द्रीय कार्यसमिति गठन गर्दा कांग्रेस औपचारिक रूपमा विभाजनतर्फ जानसक्ने आशंकाले सहमतिका विकल्पहरू खोजिँदै छन् ।

विशेष महाधिवेशनको बन्दसत्रले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरिसकेको छ । कार्यविधिअनुसार १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल समाप्त भएको ठहर गर्दै हालको केन्द्रीय कार्यसमिति विघटन गर्ने र १५औं महाधिवेशन नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने व्यवस्था गरिएको छ ।

Advertisement

कार्यविधिमा विधान संशोधनदेखि नयाँ नेतृत्व चयनसम्मको व्यवस्था गरिएको छ । विधानको धारा ३५ अनुसार ५ सदस्यीय निर्वाचन समिति गठन गरी विशेष महाधिवेशनबाटै केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने प्रावधान राखिएको छ । यही प्रक्रियाअनुसार वैशाखमा हुने नियमित १५ औं महाधिवेशनसम्मका लागि महामन्त्री गगन थापा सभापति रहने गरी अन्तरिम केन्द्रीय समिति चयन हुन सक्ने आँकलन गरिएको छ ।

सोमवारदेखि बन्दसत्र औपचारिक रूपमा अघि बढाइएको छ । महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक र महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । ती प्रतिवेदनमाथि छलफल गर्न प्रदेशगत प्रतिनिधित्वका आधारमा ९ वटा समूह गठन गरिएको छ ।

समूहमा कोशीबाट मेदनी सिटौला, मधेसबाट चन्द्रशेखर यादव, वागमतीबाट वीरेन्द्र सिंह, गण्डकीबाट रेशम बानियाँ, लुम्बिनीबाट भुवन श्रेष्ठ, कर्णालीबाट नारायण भट्टराई र सुदूरपश्चिमबाट भरत खड्का संयोजक रहनुभएको छ । उपत्यकातर्फ प्रमोदहरि गुरागाईं तथा भ्रातृ–शुभेच्छुकतर्फ केशव निरौला र सीता सापकोटा सहभागी रहनुभएको छ । यी समूहले समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधनजस्ता चार प्रमुख एजेन्डामा सुझाव दिनेछन् ।

विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएपछि संस्थापन (देउवा) र कोइराला पक्ष दुवै दबाबमा परेका छन् । लामो समय अनिर्णीत बस्दा गलत सन्देश गएको भन्दै देउवा पक्षकै केही नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिने संकेत गर्न थालेका छन् । यता, शेखर कोइराला पक्षले विशेष महाधिवेशन पक्षसँग लिखित सहमति भए सहभागी हुने बताएको छ । तर, सहमतिका सर्तहरू अझै खुलिसकेका छैनन् ।

प्रतिक्रिया