रसुवागढी बाढी अपडेट : ९१ नेपाली केरुङमा सुरक्षित

विदुर खबर २०८२ असार २६ गते २०:३९

नुवाकोट । चीनको तिब्बततर्फबाट असार २४ गते बिहान करिब ३ बजे आएको भीषण बाढीले रसुवागढी नाकामा ठूलो क्षति पुर्‍याएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले असार २६ गते सार्वजनिक गरेको पछिल्लो प्रेस विज्ञप्तिमा उद्धार, राहत तथा पूर्वाधार पुनःस्थापनाको कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएको छ।

Advertisement

बाढीपछि चीनतर्फ अलपत्र परेका ९१ जना नेपाली नागरिकलाई चिनियाँ प्रशासनले केरुङमा सुरक्षित रूपमा राखेको छ। उनीहरूलाई खानपिन, आवास, औषधोपचार लगायत आवश्यक सेवा प्रदान गरिएको र दुवै देशका प्रशासनबीच निरन्तर समन्वय भइरहेको जनाइएको छ। भोटेकोशी तथा त्रिशुली नदी किनारमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली परिचालित गरिएको छ।

यसबीच, टिमुरे–स्याफ्रुवेशी पदमार्ग हुँदै १४३ जना प्रभावित नागरिकहरूको सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १६ जना महिला, १२४ जना पुरुष र ३ जना बालबालिका रहेका छन्। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाको सहयोगमा निजी हेलिकप्टरमार्फत १२ जना नागरिकको हवाइमार्गबाट उद्धार पनि गरिएको छ।

Advertisement

बाढीका कारण अवरुद्ध भएको सञ्चार र विद्युत सेवा असार २६ गते बिहान ११ बजेबाट पुनः सुचारु भएको हो। त्यस्तै, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड मर्मतका लागि सडक विभाग, विभिन्न जलविद्युत आयोजनाहरू र स्थानीय तहबीच समन्वय गरी हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक पुनःनिर्माणको कार्य तीव्र पारिएको छ।

प्राकृतिक सम्पदा र इतिहासमा समृद्ध रहेको रसुवागढी क्षेत्र पनि बाढीको चपेटामा परेको छ। गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको ऐतिहासिक रसुवागढी किल्लाको पश्चिम पर्खाल करिब ७ मिटर भत्किएको छ भने त्यहाँ अवस्थित काली मन्दिर पनि पूर्ण रूपमा क्षति भएको पुष्टि गरिएको छ।

Advertisement

यसैगरी, रसुवा भन्सार कार्यालय टिमुरेको यार्डमा फसेका ४ वटा विद्युतीय सवारीसाधन इभि र ४ वटा कन्टेनरमा रहेको मालसामानलाई सुरक्षित स्थानमा सारिएको छ। यार्ड क्षेत्र वरपर थुप्रिएको करिब १०० मिटर मलबा हटाइएको र खोज तथा उद्धार कार्य अझै तीव्र बनाइएको जनाइएको छ।

बाढीले बगाएको शवहरू त्रिशुली नदीको तटीय क्षेत्रमा रहेका अन्य जिल्लाहरूमा फेला परेका छन्। चितवनको इच्छाकामना गाउँपालिका–६ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल–भारत सीमामा दुई वटा शव फेला परेका छन्। यी शवहरू परीक्षणका लागि टिचिङ अस्पतालमा पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सशासन” नारासहित उद्धार र पुनःस्थापना कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया