बेलकोटगढीको निरञ्जना भगवतीको मन्दिरमा १३८ घरको सामूहिक जमरा

विदुर खबर २०७५ असोज २५ गते ११:३०

नुवाकोट, नेपालीहरुको महान चाड बडा दशैंको घटस्थापनाको दिन बुधवार नुवाकोटको बेलकोटगढीमा सामूहिक जमरा राखिएको छ ।

Advertisement

बेलकोटगढी नगरपालिका वडा नं. १० स्थित बेलकोटगढीमा रहेको निरञ्जना भगवती मन्दिरको दशैं घरमा१३८ परिवारले सामूहिक रुपमा घटस्थापना गरी जमरा राखेका हुन्् ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा विसं १८०१ मा नुवाकोट माथि बिजयी हासिल गरे पछि सुरु भएको सामूहिक जमरा राख्ने परम्परा अन्तरगत निरञ्जना भगवति मन्दिरमा यो वर्षपनि निरन्तरता दिइएको मन्दिरका पुरोहित नरनाथ पौडेलले बताए । ‘मन्दिरको दशैं घरमा सामूहिक जमरा राख्ने परम्परा पुरानो हो, उनले भने– मेरो बाजेको पालादेखि नै सामूहिक जमराको अभ्यास हुँदै आएको छ । नुवाकोट, रसुवा र धादिङका नौ कोटमध्ये बेलकोटगढी एक कोटको रुपमा महत्वपूर्ण मानिन्छ । निरञ्जना भगवती मन्दिर पौराणिक र शक्तिपीठको रुपमा समेत परिचित छ । बडादशैंमा काठमाडौं हनुमानढोकाको बैद्धिक विधि अनुसार नै यहाँ पनि पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको निरञ्जना भगवती संरक्षण समितिका अध्यक्ष कालीबहादुर तिवारीले बताए । ‘धार्मिक तथा ऐतिहासिक रुपमा निकै महत्व बोकेको यहाँ सामूहिक जमराको अभ्यासलाई जातीय विभेद रहित समाज निर्माणको नमूना मान्नछ सकिन्छ’ उनले भने– ‘विश्वकर्मा, नेपाली, मिजार, जनजाति र ब्राम्हण क्षेत्रीले संयुक्त रुपमा मन्दिरमा सामूहिक जमरा राख्ने गरेका छन् ।’ घटस्थापनाको दिन राखिएको सामूहिक जमरा विजया दशमीको दिन वितरण गर्ने गरिएको छ ।’ स्थानीय विश्वकर्मा, मिजार, नेपाली लगायतका थरका १८ घरपरिवार सहित ब्राम्हण, क्षेत्री समुदायले एकै निरञ्जना भगवति मन्दिर परिसर स्थित कोटघरमा जमरा राखेका छन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछिबेलकोटका राजा जयन्त रानालाई हाल गढी भएको स्थानमा मारेपछि सोही खुशीयालीमा वडादशैं उत्सव मनाउने र यो पर्वलाई सबै जातजातिको साझा पर्वको रुपमा विकास गरिएको हुन सक्ने मन्दिरका उपासे मानबहादुर राना बताउँछन् । सामूहिक जमराले गाउंमा छुवाछुत प्रथा बिरुद्धको सचेतना प्रचारमा सहयोग पुगेको स्थानीय भिमबहादुर नेपाली बताउँछन् । उनी मन्दिरमा हरेक दिन नगरवाना बजाउने गर्दछन् । पहिले पहिले नगरवाना बजाउने कामलाई स्थानीय गाउँलेहरु समय सुचकको रुपमा लिने गरेका थिए । ‘पहिले घडीको चलन थिएन स्थानीय समाजसेवी बासुदेव कँडुवालले भने– विहान सवेरै र साँझ झम्के साँझ परेपछि विहान उठ्ने र मेलापात कामकाजवाट फर्किने बेलाको रुपमा लिने गरिएको रहेछ ।’ यो चलनले अहिले पनि निरन्तरता पाउँदै आएको कँडुवाल बताउँछन् ।

Advertisement

मन्दिरमा सामूहिक जमरा राख्नेदेखि पुजा सञ्चालनका लागि गुठीको ब्यवस्था भएपनि मन्दिरको गुठी जग्गाबाट कुतवाली उठ्न छाडेपछि परम्परा धान्न समस्या भइरहेको वडा नं. १० का वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले बताए । गुठीबाट कुतवाली उठ्न नसकेपछि अहिले बेलकोटगढी नगरपालिकाको कार्यालयबाट पुजा सञ्चालनको लागि एक लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया