किन हुँदैन सन्तान ? सन्तान नभए के गर्ने ?
डा. सबिना श्रेष्ठ प्रधान, निःशन्तान विशेषज्ञ
विवाहपछि प्रत्येक दम्पतिको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुन्जियोस् । तर चाहँदा–चाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पत्तिमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन् ।
आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवानको श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेलाँ गर्ने चलन छ । झण्डै १५ प्रतिशत विवाहित दम्पत्तिले (कहाँका ?) सन्तान सुखबाट वञ्चित हुनुपर्दा यति सुन्दर संसार उनीहरुका लागि कालकोठरीजस्तै बन्न पुगेको छ । आजको वैज्ञानिक युगमा आइयूआई, आइभिएफ (टेष्टट्युव बेबी), एक्सीजस्ता आधुनिक प्रविधिद्वारा कैयौं निसन्तान दम्पत्तिको सपना साकार हुन पुगेको छ।
निःसन्तान भनेको कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि २ वर्षभित्र गर्भधारण हुन नसकेको अवस्थालाई मानिन्छ । सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रुपमा जिम्मेवार मानिन्छन्। कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो ।
स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ । स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण यस्तो हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेलाई नराम्रो दृष्टिले हेर्ने र हेलाँ गर्ने चलन छ । निःसन्तानका हातको पानी चल्दैन वा पितृहरु विमुख हुन्छन् भन्ने अन्धविश्वासी परम्परा पनि हाम्रो समाजमा छ । यस्तो गर्नु राम्रो होइन । निःसन्तान हुनुको कारण निक्र्याेल गर्नु जरुरी हुन्छ ।
छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्छन् । अरुको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने कैयन् सन्तानहीन व्यक्ति हाम्रै समाजमा पनि धेरै छन्।
कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । युवाहरु विवाह गर्नासाथ रोजगारीका लागि विदेश गएका हुन्छन् । २ महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुन्छ । छोटो समयमै सन्तानको इच्छाका कारण तनाव पर्दा सन्तान जन्माउन सकेका हुँदैनन् ।
श्रीमान–श्रीमती दुवैमा कुनै खरावी नभएपनि तनावका कारण समस्या उत्पन्न हुन्छ । कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ, ‘विवाह गरेको ४–५ वर्ष भयो, सन्तान भएको छैन ।’ यस्ता समस्या लिएर आउनेका लागि ओम अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको छ ।
श्रीमानको शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान विदेश गैसकेपछि पनि श्रीमतीको पाठेघरमा राखी उपचार गर्ने गरिन्छ । तर यस्तो अवस्थालाई हाम्रो समाजले श्रीमान विदेशमा भएको समयमा पनि कसरी गर्भवती भएको भनेर नकारात्मक दृष्टिले हेर्ने चलन छ । यसमा जनचेतना जगाउन जरूरी छ । श्रीमानको शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ।
विदेशमा काम गर्न जाने कामदारमा शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुन्छ । किनभने त्यहाँको उच्च तापक्रमले यस्तो हुनसक्छ । विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ । शुक्रकीट सामान्य अवस्थामा फर्कन करीब ३ महिना लाग्ने गर्छ । त्यस समयसम्म उनीहरु पुनः रोजगारीका लागि फर्कुपर्ने भैसक्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुनसकेको हुँदैन । उनीहरूका लागि आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने हुन्छ । यस विधिद्वारा ओम अस्पतालमा करीब २ हजारले सन्तान जन्माएका छन्।
पुरुषमा सन्तान नहुने कारण
– विर्यमा शुक्राणुको संख्या वा गतिमा कमी
– विर्यमा शुक्रकीट उत्पादन नहुनु ।
– विर्यमा संक्रमण
– शुक्राणुको बनावटमा खराबी
– हर्मोनमा गडवडी
– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु
– शुक्रनली वा अन्य भागमा केही अवरोध भएमा ।
महिलामा सन्तान नहुने कारण
– अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै साना–साना डिम्ब बनेपनि नबढ्ने ।
– पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा या अण्डा पकडिने काम नगरेमा ।
– पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुनु ।
– हर्मोनमा गडबडी ।
– पाठेघरको झिल्लीमा मासु बढ्नु ।
– गर्भाशयको मुख ज्यादै सानो हुनु ।
महिलामा गर्नुपर्ने जाँच
– पाठेघरको झिल्लीमा क्षयरोग भएको हो या होइन
– महिनावारी भएको दोश्रो वा तेश्रो दिनमा हर्मोनको जाँच
– रगतको सामान्य जाँच
– भित्री अल्ट्रासाउण्डद्वारा अण्डाको जाँच
– दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच
– सहवासपश्चात् शुक्रकीटको जाँच
पुरुषमा गर्नुपर्ने जाँच
– रगतको सामान्य जाँच
– विर्यको विशेष जाँच
– आवश्यक अनुसार टेस्टिकुलर बायोप्सी गर्ने
– हर्मोनको जाँच
सबै किसिमको जाँचपश्चात् नै कुनै निष्कर्षमा पुग्न सकिन्छ । त्यसपछि मात्र उपचारको विधि अपनाउनु पर्छ।
उपचार विधि
– सबै जाँचपश्चात श्रीमान्–श्रीमतीको सामान्य उपचार गर्ने
– आर्टिफिसियल इन्सेमिनेशन विद पार्टनर्स स्पर्म
– आर्टिफिसियल इन्सेमिनेशन विद डोनर्स स्पर्म
– टेष्टट्युब बेबी
– आइभिएफ विद डोनर स्पर्म
– एग डोनेशन
– सिमेन एण्ड एम्ब्रियो बैंक
– डोनर एम्ब्रियो ट्रान्सफर
– इन्ट्रासाइटोप्लाज्मीक स्पर्म इन्जेक्शन
सामान्य उपचारअन्तरगत महिनावारी भएको तेश्रो दिनबाट अण्डा बन्ने औषधि दिएर महिनावारी भएको ९ दिनबाट ‘ट्रान्सभ्यागिनल सोनोग्राफी’ बाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ। अण्डा फुटेपछि प्राकृतिक सहवासको सल्लाह दिइन्छ र यसबाट गर्भधारण गर्ने अवसर बढ्न जान्छ ।
आईयूआई प्रविधिमा महिनावारी भएको दोश्रो दिनबाट अण्डा बन्ने औषधि दिएर ९ दिनबाट टिभिएसबाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ । महिनावारी भएको चौध–पन्ध्र दिनमा जब अण्डा फुट्छ तब श्रीमानको विर्य संकलन गरी आईभिएफ मिडियामा हेरेर मसिनो नलीको माध्यमबाट श्रीमतीको पाठेघरमा राखिन्छ । यो प्रक्रिया पीडादायक हुँदैन । यसमा बिरामीलाई अस्पताल पनि भर्ना हुनुपर्ने आवश्यकता पर्दैन ।
श्रीमानको विर्य संख्या निकै कम भएको या शुक्राणुको अभाव भएको अवस्थामा श्रीमान–श्रीमती दुवैको सहमतिबमोजिम दाताको शुक्राणु लिएर यो प्रविधि अपनाइन्छ । आईयूआई प्रविधिका लागि पाठेघरको एउटा नली भएपनि खुल्ला भएको हुनुपर्छ र पाठेघरको झिल्लीपनि स्वस्थ हुनुपर्छ । यदि महिलाको पाठेघरको दुवै नली बन्द भएमा, नलीहरू शल्यक्रियाद्वारा निकालिएमा, ६ पटकसम्म आईयूआई सफल नभएमा, बाँझोपनको कुनै कारण पत्ता नलागेमा आइभिएफ (टेष्टट्युव बेबी) विधि अपनाइन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया