नुवाकोटमा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

विदुर खबर २०८० फागुन १४ गते १२:२२

नुवाकोट । नुवाकोटमा आजदेखि दादुरा रुवेला रोगविरुद्धको खोप अभियान शुरु भएको छ ।

Advertisement

अभियान अन्र्तगत जिल्लामा रहेका नौ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

नुवाकोटमा १७ हजार ६ सय ३२ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

आजैदेखि विदुर नगरापालिकाले पनि १३ वट्टै वडामा रहेको स्वास्थ्य चौकीहरुबाट खोप लगाउन शुरु गरेको छ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ ।

स्वास्थ्य मन्त्रालयले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ-आफ्ना बालबालिकालाई खोप लगाउन आह्वान गरेको छ । मन्त्रालयले खोपबाट ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने जनाएको छ ।

Advertisement

दादुरा-रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप अभियानमा ७ वटा रोग विरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने बताए । ती खोप लगाउन छुटेका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाइने उनले बताए ।

सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गर्न थालेको हो ।

 

प्रतिक्रिया