सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने नुवाकोटका किरण पक्राउ

विदुर खबर २०८० फागुन १० गते २०:५०

नुवाकोट । गोप्य फोटो र भिडियो सार्वजनिक गरेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काठमाडौंका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

Advertisement

पीडित महिलाको उजुरीका आधारमा प्रहरीले नुवाकोटको शिवपुरी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-११, बानियाँटार बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरेको हो ।

उनीविरुद्ध गत पुस ८ गते महिलाको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो । त्यसपछि फरार रहेका थापालाई खोजतलास गर्ने क्रममा बुधबार काठमाडौंको गोंगबुबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

Advertisement

उनका अनुसार ती महिला र थापा सामाजिक सञ्जाल फेसबुकमार्फत् जोडिएर प्रेम सम्बन्धमा थिए । त्यही क्रममा उनीहरुबीच मेसेन्जरमार्फत् गोप्य फोटो र भिडियोसमेत एकआपसमा साँटासाट भएको थियो ।

तर पछि सम्बन्ध बिग्रिएपछि थापाले प्रेमिकाको फोटो र भिडियो उनको परिवारका सदस्य र आफन्तहरुलाई पठाएर चरित्र हत्या गरेका थिए ।

Advertisement

त्यसपछि ती महिलाले थापाविरुद्ध साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया