कार्यसम्पादन मूल्यांकनमा म्यागङ पहिलो बन्दा बेलकोगढी कमजोर

विदुर खबर २०८० फागुन ९ गते २१:३१

नुवाकोट । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा नुवाकोट जिल्लाका १२ वटा स्थानीय तहमध्ये म्यागङ पहिलो भएको छ ।

Advertisement

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार म्यागङले ४५.३७ अंक प्राप्त गरी जिल्लाका स्थानीय तहहरुमध्येमा पहिलो बनेको हो । जिल्लामा रहेका दुई नगरपालिकामा बेलगकोटगढी कार्यसम्पादनमा सबभन्दा कमजोर देखिएको छ । उसले १९.६४ अंक पाएको छ । यस्तै ४५.४ अंक प्राप्त गरी लिखु गाउँपालिका दोस्रो, ४३‍.२६ अंकका साथ विदुर नगरापलिका तेस्रो स्थानमा रहेको छ ।

पञ्चकन्या गाउँपालिका ४०.८ अंकका साथ चौथो, ककनी ३९.५३ अंक प्राप्त गर्दै पाँचौ स्थान ओगट्न सफल भएको छ । किस्पाङ ३८.८४, शिवपुरीले ३७.३३, तारकेश्वर ३६.६६, तादी ३५.८२, सूर्यगढी ३०.३ र दुप्चेश्वरले २५.८९ अंक पाएको छ ।

Advertisement

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय-व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मूल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा-८ को तुलनामा कक्षा-९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

Advertisement

प्रतिक्रिया