नुवाकोटको त्रिशूली अस्पताललाई सय बेडमा स्तरोन्नति गरिने

विदुर खबर २०८० साउन १२ गते १७:२८

नुवाकोट । वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले जिल्ला अस्पताल त्रिशूलीलाई सय बेडमा स्तरोन्नति गर्ने बताएका छन् ।

Advertisement

बिहीबार ५९ औं वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रममा मन्त्री जोशीले ५० शय्या भएको अस्पताललाई सय शय्या पुर्‍याउने बताएका हुन् । ‘स्थानीयको मागलाई आगामी मन्त्रिपरिषद् बैठकमा लैजानेछु,’ मन्त्री जोशीले भने, ‘हुँदा खाने वर्गको पहुँचको रुपमा यो अस्पताललाई बनाइने छ ।

त्यसका लागि कार्यविधि बनाएर मन्त्रालयले कार्य गर्ने छ ।’ उनले ६५ वर्षभन्दा माथिकालाई निःशुल्क दन्त सेवाको कार्यक्रमसमेत ल्याइने जानकारी दिए । महिलाको पाठेघरको मुखको क्यान्सरको खोपका लागि संघीय स्वास्थ्य मन्त्रालयसँग पहल भइरहेको मन्त्री जोशीले बताए ।

Advertisement

यस्तै आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले जिल्ला अस्पताल त्रिशूलीलाई अपग्रेड गर्न बजेट विनियोजन गरी अगाडि बढाउने आश्वासन दिए । ‘नुवाकोट, रसुवा र धादिङ जिल्लाको महत्वपूर्ण अस्पताल हो,’ उनले भने, ‘यसका लागि आवश्यक पर्ने पूर्वाधार र बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाउँछु ।’ उनले अस्पतालका प्रयोगशाला, कर्मचारी र चिकित्सकलाई सुव्यवस्थित बनाउन अस्पताल विकास समितिलाई निर्देशन दिए ।

वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङले जिल्ला अस्पताललाई आवश्यक जनशक्ति र बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले अस्पतालभित्र राजनीति नगरी बिरामीको उपचारका लागि सबै एकजुट भएर लाग्न आग्रह गरिन् ।

Advertisement

त्रिशूली अस्पतालमा दैनिक २ सयदेखि ३ सय बिरामी उपचार गर्न आउँछन् । अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले स्थायी चिकित्सकको खाँचो रहेको बताए ।

उनले छात्रवृत्तिमा आएका चिकित्सकले बिरामीको उपचार धानिरहेको बताउँदै स्थायी चिकित्सकसहितको जनशक्ति पठाइदिन प्रदेश सरकारसँग माग गरे । उनले अस्पतालको भौतिक पूर्वाधारका लागि जग्गा अभाव रहेकाले विद्युत् प्राधिकरणको जग्गा उपलब्ध गराइदिनसमेत आग्रह गरे ।

त्रिशूली जलविद्युत् गृह निर्माणमा खटिएका नेपाल–भारतका कामदारहरुको उपचारका लागि २०२० सालमा खोलिएको स्वाथ्य उपचार केन्द्र नै हालको जिल्ला अस्पताल हो ।

प्रतिक्रिया