बन्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

विदुर खबर २०८० साउन २ गते १३:५६

नुवाकोट । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीय फेरि आन्दोलनमा उत्रिएका छन् ।

Advertisement

फोहोर विसर्जन स्थल र बस्ती छुट्याउनुपर्ने भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाका बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । काठमाडौं उपत्यकाबाट संकलन हुने फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन हुँदै आएको छ ।

सोमबार बिहानदेखि प्रभावित क्षेत्रका स्थानीयले फोहोर बोकेर गएका गाडीलाई बाटोमै रोकेर फिर्ता पठाएका छन् । फोहोर विसर्जनका लागि भनेर गएका ६५ वटा टिपर उपत्यका नै फिर्ता आएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरको टेकुस्थित ट्रान्सफर सेन्टरबाट गएका ५ वटै टिपर फोहोर विसर्जन नगरी फिर्ता आएको नगर प्रहरी नायब उपरीक्षक मीनबहादुर थापाले जानकारी दिए ।

Advertisement

‘मान्छे र फोहोर छुट्याउनुपर्‍यो,’ ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईंले भने, ‘मानव स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन, दुर्गन्ध बढेको छ ।’ वडाध्यक्ष बजगाईंले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयले राखेको माग जायज रहेको बताए । ‘उहाँहरूको माग संघीय सरकारसँग हो । हाम्रोतर्फ पूरा गर्नुपर्ने सबै काम गर्नेछौं,’ उनले भने, ‘१७ सय रोपनी अधिग्रहण गर्न सम्भव नै छ, तर उनीहरूले माग गरेअनुसार ४ हजार रोपनी जग्गा सबै अधिग्रहण गर्न सम्भव नहोला कि भन्ने सवाल हो ।’

ककनी गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर जाने सवारीसँग शुल्क उठाउने निर्णय गरेको छ । उक्त निर्णयमा साना गाडीलाई एक हजार र ठूला सवारीलाई १५ सय रुपैयाँ प्रतिटिप शुल्क लिने उल्लेख छ । सो नीतिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । ल्यान्डफिल साइट जाने सडक क्षेत्रमा पूर्वाधार निर्माण ककनी गाउँपालिकाले आफ्नो लगानी नगरेले शुल्क लिने नसक्ने काठमाडौं महानगरपालिकाका इन्जिनियर सरकारदीप श्रेष्ठले जिकिर गरे ।

Advertisement

‘ककनी गाउँपालिकाले कोल्पु खोलादेखि बन्चरेडाँडा जाने क्षेत्रमा प्रवेश गरेबापत पैसा लिन खोजेको छ, तर त्यो कानुनसम्मत देखिएको छैन,’ श्रेष्ठले भने, ‘फोहोर व्यवस्थापनसहित गर्ने हो भने उठाउँदा पनि हुन्थ्यो ।’ ठूलो खोलादेखि कोल्पु खोलासम्मको ६ किलोमिटर सडक सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले बनाएको उनले बताए । हाल महानगरपालिकाले बन्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने सवारीलाई व्यवस्थापन शुल्कमार्फत सानो गाडीको ३ सय ५० र ठूलोको ७ सय रुपैयाँ लिने गर्छ ।

दुई वर्षका लागि भनेर ओखरपौवाको सिसडोलमा फोहोर विसर्जन गर्ने भनेर उपत्यकाको फोहोर डेढ दशकसम्म त्यहीं ठाउँमा थुपारिएपछि स्थानीयले धेरै सास्ती खेपेका थिए । फोहोरका कारण बस्न सक्ने अवस्था नभएपछि गत वर्ष स्थानीयले सिसडोलमा फोहोर फाल्न निषेध गरेका थिए । निर्माण सम्पन्न हुन नपाउँदै सिसडोलदेखि करिब डेढ किलोमिटर तलको बन्चरेडाँडामा फोहोर फाल्न थालिएको छ ।

बन्चरेडाँडामा पनि सिसडोलमा जसरी नै अव्यवस्थित तरिकाले विसर्जन हुन थालेपछि समस्या निम्तिएको छ । लिचेट पोखरी भरिएर खोलामा पुग्न थालेपछि स्थानीयले केही महिनाअघि सरकारको ध्यानाकर्षणसमेत गराएका थिए । नुवाकोट–१ का सांसद हितबहादुर तामाङले प्रतिनिधिसभामा पनि बन्चरेडाँडा ल्यान्डफिल साइटमा नियमअनुसार फोहोर विसर्जन नगरिएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

सिसडोलमा जस्तै बन्चरेडाँडामा फोहोर व्यवस्थापन उपयुक्त विधि नअपनाउँदा गिद्धले फोहोरको डंगुरबाट खानका लागि ल्याएका सिनोहरू स्थानीयका घर–आँगनमा ल्याएर खसाल्ने, फोहोर खुला राख्नाले बस्तीमा दुर्गन्ध फैलन थालेको छ । झिँगाका कारण घरमा बस्न सक्ने अवस्था नै नभएको स्थानीयवासीले बताएका छन् । गत वैशाख २९ गते ककनी र धुनीबेसीका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै समस्याबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया