टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन् ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको आज मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने बताए ।
“नुवाकोटसहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको उनले बताए । अर्थमन्त्रि महतले कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन आगामी आर्थिक वर्षमा बजेट तर्जुमा गर्न लागिएको जानकारी दिए ।
उनले सङ्घीय सरकार आगामी आर्थिक वर्षको तयारीमा रहेकाले उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउने उल्लेख गरे ।
“विकास निर्माणलाई कांग्रेसले सदैव प्रथामिकता दिँदै आएको छ । जनताको सुखदुःख, विकास निर्माण, धर्म र संस्कृति तथा मानवीय जीवनसँग जोडिएका पक्षमा काम गर्दै आइरहेको महतले बताए ।
“अहिले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिको भएकाले धेरै अपेक्षा नराख्न तर, राम्रा र नमुना कामको थालनी हुन्छ भन्नेमा ढुक्क हुन उनले सबैमा आह्वान समेत गरे ।
दुप्चेश्वर–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित ‘गुरु पद्मसम्भव’ मूर्तिको प्राण प्रतिस्थापन गर्दै उनले बुद्धपछिको बुद्ध भगवान्का रुपमा सम्मानित भगवान् पद्म सम्भवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा सहयोग पुग्ने बताए ।
रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया