नुवाकोटमा सुत्केरी मृत्यु घटना : सहमतिपछि सडक सञ्चालनमा

विदुर खबर २०७९ फागुन १३ गते २०:५९

नुवाकोट । पासाङल्हामु र गल्छी–काठमाडौं जाने अवरुद्ध सडक अपराह्वबाट सञ्चानलमा आएको छ ।

Advertisement

शल्यक्रियाका क्रममा त्रिशूली अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले शनिबार बिहानदेखि पिपलटार, गंगटे, बुनिबेंसी र महादेवफाँट क्षेत्रका सडक अवरूद्ध पारेका थिए ।

त्रिशूली अस्पतालका प्रमुख चिकित्सक तथा मेडिकल सुपरिटेण्डेन्ट दिपेन्द्र पाण्डे छिट्टै सरुवा भई जाने, शल्यक्रिया गर्ने चिकित्सक काठमाडौं जाने र अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले वार्ता टोलीमा रहेका सबैका अगाडि गल्ती स्वीकार गरी माफी मागेपछि आन्दोलन फिर्ता भएको पीडित पक्षका कृष्णप्रसाद भट्टले बताए ।

Advertisement

त्यसैगरी मृतकका शिशुको उच्च शिक्षाको लागि विदुर नगरपालिकाले सहयोग गर्ने र अस्पतालले पीडित दुई बच्चाको स्वास्थ्य कार्ड बनाइदिने सहमति भएको छ । सहमतिपछि जिल्लाभित्र र रसुवादेखि आएर रोकिएका सवारीसाधन सञ्चालन भएका छन् ।

बुधबार जिल्ला अस्पताल त्रिशूलीमा शल्यक्रिया गर्दा विदुर नगरपालिका–५ पिपलटारकी २६ वर्षीया सरिता न्यौपानेको मृत्यु भएको थियो । बिहीबार पीडितपक्षले अस्पतालको लापरबाहीले उनको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालयको रोहबरमा पीडित पक्ष र अस्पताल प्रशासनबीच क्षतिपूर्ति तथा घटनाको छानबिन गर्ने सहमति भई टुंगोमा पुगिसकेको विषयलाई त्रिशूली अस्पतालका मेसु पाण्डेले शुक्रबार विज्ञप्ति जारी गरेपछि पीडित पक्ष आन्दोलित भएर सडक बन्द गराएका थिए ।

Advertisement

मेसु पाण्डेले जारी गरेको विज्ञप्तिमा पीडित पक्ष स्वयंले हस्ताक्षर गरी शल्यक्रिया गराइएको, क्षतिपूर्ति अस्पताल प्रशासनले नभई विदुर नगरपालिकाले शिशुको पालनपोषणको लागि लगायतका विषयवस्तु आएपछि पीडित पक्ष आक्रोशित बनेका थिए ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले अस्पतालले आफ्नो गल्ती सच्याएर दुवै पक्षलाई राखेर वार्ता गरी सडक सञ्चालन गराइएको बताए । मृत्यु भएकी सुत्केरी न्यौपानेको सोमबार त्रिशूली अस्पतालमा सुत्केरी गराइएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पतालमा पठायो । त्यहाँ उनको बुधबार मृत्यु भएपछि पीडित पक्षले त्रिशूली अस्पतालको ढोकामा शव ल्याएर राखेर दोषीमाथि कारबाही माग गरे । त्यसपछि विवादले चर्को रुप लिएपछि जिल्ला प्रशासनको रोहबरमा बिहीबार राति ६ बुँदे सहमतिपछि पीडित पक्षले शव उठाएका थिए ।

सहमतिपत्रमा घटना छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीको संयोजकत्वामा ५ सदस्यीय छानबिन समिति गठन, दोषीमाथि कारबाही, नवजात शिशुको पालनपोषण, अस्पताल र विदुर नगरपालिका समेतले १३ दिनभित्रमा ५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको थियो ।

 

प्रतिक्रिया