नुवाकोट र रसुवामा निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइनको काम चैतमा पुरा हुने

विदुर खबर २०७९ माघ २४ गते १९:३१

नुवाकोट ।  युरोपियन युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ।

Advertisement

इयुका एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो। आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे हब र त्रिशूली-थ्री ‘बी’ हब सबस्टेसन निर्माणाधीन छन्। साथै चिलिमे हबदेखि त्रिशूली-थ्री ‘बी’ हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ।

३ करोड ९० लाख अमेरिकी डलर लागतको आयोजनामा नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीसँगै जर्मन विकास बैंक (केएफडब्लू)को अनुदान छ। इयुले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी) को आयोजनामा सहुलितपूर्ण ऋण आयोजनाले लिएको छ।

Advertisement

युनियनको उच्चस्तरीय टोलीले त्रिशूली-थ्री ‘बी’ हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको हो।

टोली प्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले पछिल्लो समय गति लिएको भन्दै अहिलेसम्मको प्रगति सन्तोषकजनक रहेको बताएका थिए।

Advertisement

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने अवस्था छ। बाढी पहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो।

अहिले निर्माणले गति लिएको छ। ‘निर्माणमा केही ढिलाइ भएकोमा उहाँहरुले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनु भएको थियो। तर, निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल भइरहेको देखेर खुसी भएको टोलीले यसको प्रशंसा गरेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘युरोपेली युनियनले इआइबीमार्फत ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको सहवित्तीयकरणमार्फत लगानी गर्न इच्छा व्यक्त गरेको छ।’

इआइबीले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरुमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गर्न लागिएको हो। आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत छ। त्यसमध्ये प्रसारणलाइन र सबस्टेसनको निर्माण प्रगति क्रमश: ७१ र ७० प्रतिशत छ। प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण आगामी चैत ९ गतेभित्र भित्र सक्ने लक्ष्य राखी धमाधम काम भइरहेको छ।

प्रसारण लाइन निर्माणमा करिब ३ सय जना, चिलिमे हब सबस्टेसनमा ९० जना र त्रिशूली-थ्री बी हबमा १६० जना श्रमिक परिचालित छन्।

घिसिङले श्रमिकको संख्या थप गरी टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरु जडान गर्ने लगायतका सबै कामहरु समानान्तर रुपमा अगाडि बढाउन निर्देशन दिएका छन्।

दुवै सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआइएसलगायतका महत्त्वपूर्ण उपकरणहरु आयोजना स्थलमा ल्याइसकिएको छ। यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेको छ।

अहिले सबस्टेसनहरुमा उपकरणहरु जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ। कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरुमध्ये ४४ वटाको जग हालिएको छ। १३ वटा टावरहरुको आंशिक जग हालिएको छ। १५ वटा टावरको जग हाल्न खन्ने तथा ढलाइनको काम भइरहेको छ। २९ वटा टावर खडा गरिएको छ।

खडा गरिएका टावरमा तार तान्न मुख्य ठेकेदारले सहायक ठेकेदारसँग सम्झौता गरिसकेको छ। तार तान्न छिट्टै सुरु हुने बताइएको छ।

तत्काल १० किलोमिटर तार तान्न सकिन्छ। आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले अहिले निर्माणमा तीव्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखी काम भइरहेको जनाएको छ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो।

प्रतिक्रिया