नुवाकोटका सांसद ढुंगानाले बागमती प्रदेशका सांसदहरुलाई सपथ खुवाउने

विदुर खबर २०७९ पुष ८ गते २१:०३

नुवाकोट । बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते र बाँकी सांसदहरुको शपथ पुस १४ गते हुने भएको छ ।

Advertisement

बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा आज बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

Advertisement

प्रदेश सभामा निर्वाचित बाँकि प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम पुस १४ गते दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकि सांसदहरुलाई ज्येष्ठ सदस्य ढुंगानाले शपथ गराउनेछन् ।

सर्वदलीय बैठकमा हामीले शपथका विषयमा सहमती जुटाएका छौं ।’ मुख्यमन्त्री पाण्डेले भने, ‘हामीले निर्णय गर्ने हैन । हामीले यो सहमती जुटायौं भनेर प्रदेश प्रमुखलाई सरकारको तर्फबाट जानकारी गराउनेछौं ।’

Advertisement

संविधानको धारा १८३ अनुसार प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र बैठक आह्वान गरिसक्नुपर्ने र सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहको छ । सोहि अनुसार बागमती प्रदेश सभामा सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेलसम्मका लागि ढुंगानाले बैठकको अध्यक्षता गर्नेछन् ।

निर्वाचन आयोगले गएको पुस २ गते प्रदेश प्रमुख शर्मा समक्ष निर्वाचन परिणाम पेश गरेको थियो । संवैधानिक व्यवस्था अनुसार २२ गतेभित्र पहिलो बैठक बसिसक्नुपर्ने हुन्छ । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चुनिनुपर्ने संवैधानिक व्यवस्था रहेको हुँदा सरकारले त्यही अनुसारको तयारी गर्ने उनले बताए । पहिलो बैठक बसेपछि सरकार गठनको प्रकृयाले पूर्णता पाउने उनले बताए ।

 

प्रतिक्रिया