रसुवामा वाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

विदुर खबर २०७९ कार्तिक २५ गते १२:३७

रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रसुवाका उम्मेदवारहरु मत माग्न र प्रचारप्रसार गर्न घरदैलो अभियामा व्यस्त छन् ।

Advertisement

जिल्लामा प्रमुख दलहरुले घरदैलो अभियालाई तीव्रता दिएका हुन् । हिमाली जिल्ला रसुवामा चिसो बढे पनि यहाँको चुनावी माहोल भने तातिँदै गएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले लगायतका अन्य साना दलहरुले पनि आफ्नो प्रचारप्रसारलाई तीव्र दिएका छन् । उम्मेदवारहरू घर घर पुगेर मतदाता भेटघाट गरिरहेका छन् ।

रसुवामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको छ । वाम लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारहरुले निर्वाचन अभियानलाई तीव्रता दिएका छन् । विकासको मिठो आश्वासन बोकेर उम्मेदवार गाउँ पसेका छन् । जिल्लाको उतरी क्षेत्रमा झुरुप्प बस्ती भएकाले भेला गरेर सामूहिक रुपमा उम्मेदवारहरुले मत मागेका छन् । जिल्लाको उतरी क्षेत्रमा चिसो बढ्दै गएको छ । चिसो बढेकाले उतरी क्षेत्रमा उम्मेदवारहरुले घरदैलो अभियानलाई सकाएका छन् ।

Advertisement

एमालेले जिल्लाको उतरी भेग हाकु, गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, टिमुरे, बृदिम, स्याफ्रु, धुन्चे राम्चे लगायतका क्षेत्रमा घरदैलो अभियान सकिसकेको बताएको छ । जिल्लाको दक्षिण भेग कालिका, उत्तरगया गाउँपालिको धेरै वडामा घरदैलो अभियान सकिएको तथा नैकुण्ड गाउँपालिकामा जारी रहेको नेकपा एमालेका उपसचिव कैसाङ नुर्पु तामाङले बताए । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले पनि उतरी भेगका हाकु, गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, टिमुरे र बृदिममा घरदैलो अभियान सकिएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवरले पनि जिल्लाको दक्षिण भेगमा घरदैले अभियान जारी राखेका छन् । घरदैले अभियान नैकुण्ड गाउँपालिकामा सकिएको वामलोकतान्त्रिक गठबन्ध चुनाव प्रचासप्रसार समितिका संयोजक जनक जीवन उपाध्याले बताए । ‘कालिका र उत्तरगया गाउँपालिकामा जारी छ’, उनले भने, ‘पाँच गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेको छ ।’ जिल्लामा वाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वतमान प्रतिनिधिसभा सदस्य मोहन आचार्य पुन: उम्मेदवारमा दोहोरिएका छन् । नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिन तामाङ २०७० को संविधान सभाका सदस्य हुन् ।

दुवै उम्मेदवारले रसुवाको विकासलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । कांग्रेसका उम्मेदवार मोहन आचार्यको प्रमुख चुनावी एजेन्डा भनेको नौकुण्ड खानेपानी रहेको छ । त्यस्तै विगतमा पूरा गर्न बाँकी रहेका विकासका काम पूरा गरी सम्मुनत रसुवा निर्माण गर्ने आफ्नो प्रमुख एजेन्डा रहको आचार्यले बताए । ‘रसुवागढी नाका व्यवस्थापन, सडक, जलविद्युत्, पर्यटन, जडिबुटी खेती, पशुपालन, कृषि, स्वास्थ्य, शिक्षा र रोजगार लगायत छन्,’ उनले भने, ‘मुख्य एजेन्डा रसुवाको विकास हो ।’

Advertisement

एमालेका उम्मेदवार छोवाङ तेन्जिन तामाङले प्रमुख चुनावी एजेन्डा भनेको रसुवामा पैसाको राजनीति अन्त्य गर्नु रहेको बताएका छन् । ‘किसानको छोरा राजनीतिमा आउन सक्ने बनाउन छ,’ उनले भने । रसुवा जिल्लामा जलविद्युत्‌को अपार सम्भावना रहेकाले आफू निर्वाचित भएपछि जलविद्युत्‌को व्यवस्थापन गर्ने तामाङले दाबी गरे । पर्यटनको विकास र रसुवागढी नाका व्यवस्थापन गर्ने मुद्दालाई पनि तामाङले अघि सारेका छन् । ‘कृषि, पशुपालनमा आधुनिकीकरण र बजार व्यवस्थापन पनि रहेको छ,’ उनले भने, ‘सडक, स्वास्थ्य, शिक्षा र रोजगार लगायत विकासका मुद्दा छन् ।’ संविधानसभा सदस्य हुँदा पूरा गर्न नसकेको बाँकी रहेका अपूरा काम गर्ने तामाङले बताए ।

पर्यटनको विकास र रसुवागढी नाका व्यवस्थापन गर्ने दुवै उम्मेदवारको एजेन्डामा परेको छ । सडक जिल्लाका प्रत्यक बस्तीमा पुगेको छ । खनिएका ग्रामीण सडक बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने दुवै उम्मेदवारले बताए । ‘जनताले दिएको पहिलो जिम्मेवारी भनेको संविधान लेख्नु थियो त्यो म संविधानसभा सदस्य हुँदा पूरा भएको छ,’ तामाङले भने । जनताले दिएको जिम्मेवारी आफूले पूरा गरेकाले जनताले फेरि पनि आफूलाई मत दिएर निर्वाचित गर्ने तामाङले बताए । २०७४ सालमा आफू निर्वाचित भएपछि रसुवा जिल्लामा धेरै विकासका काम भएको आचार्यले दाबी गरे । ‘जनताले हाम्रोभन्दा पनि राम्रो काम गर्ने व्यक्तिलाई चाहेका छन्,’ उनले भने । घरदैलोमा रहेका उम्मेदवारहरुले पनि मतदाताको मनस्थिति बुझ्न र आफ्नो पक्षमा मत लिन भरमजदुर कोसिस गरिरहेका छन् ।

प्रतिक्रिया