महिला तथा बालबालिका माथि देशभरी भैरहेको हिंसालाई अन्त्य गर्न नुवाकोटका महिला अधिकारकर्मीहरुको दबाब

विदुर खबर २०७५ भदौ १५ गते १३:४५

नुवाकोट, महिला तथा बालबालिका माथि देशभरी भैरहेको हिंसालाई अन्त्य गर्न नुवाकोटका महिला अधिकारकर्मीहरुले माग गरेका छन् । मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटको नेतृत्वमा सदरमुकाम बिदुर चोकबाट निकालिएको र्याली त्रिशुलीमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नुहुदै महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटका अध्यक्ष अञ्जली पाण्डेले महिला र बालबालिकामाथि श्रृंखलावद्ध रुपमा भईरहेको हत्या, हिंसा र बलात्कारका घटना तत्काल रोक्न दबाब दिनको लागी शान्तीपुर्ण रुपमा र्यालीको आयोजना गरिएको बताउनुभएको छ । साथै उहाले महिला बालबालिका माथि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेकोले अझै पनि बिरोधमुलक कार्यक्रमलाई जारी राख्ने बताउनुभएको छ । यस्तै, वातावरण तथा प्रजन्न स्वास्थ्य केन्द्र नुवाकोटका कोषाध्यक्ष शुभद्रा नेपालले अपराधिलाई कुनै पनि आवरणमा उन्मुक्तिको अवस्था नदिन र तुरुन्त अपराधिलाई कानुनी कठघरामा ल्याइ कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभएको छ । बलात्कार, हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई दिने भनिएको कारबाही कार्यन्वयनमा चुनौती रहेको भन्दै उहाले घटनाको प्रबृति अनुसार कानुन निर्माण गर्न सरकारलाई निरन्तर दबाब दिन आवश्य रहेको बताउनुभएको छ । यस्तै, कोणसभालाई सम्बोध गर्नुहुदै महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटका बरिष्ठ सल्लाहाकार शर्मिला थापा मगरले देशभरी जतिपनि महिला तथा बालबालिकाहरु हिंसामा परेका छन् त्यस्ता घटनाहरु दोहोरिन नदिनको लागी दबाक मुलक कार्यक्रम गरिएको बताउनुभएको छ । जिल्लाभरी भएका अपराधिक क्रियाकलापहरुलाई आगामी दिनमा रोक्नको लागी महिला तथा बालबालिकासँग सम्बन्धित क्षेत्रमा कार्यरत सबै जना प्रतिबद्ध रहेको बताउनुभएको । यस्तै, कोसेली नेपाल नुवाकोटका अध्यक्ष अस्मिता थापाले महिला माथि हुने सम्पूर्ण हिंसा अन्त्य गर्न सरकारका सम्पूर्ण संयन्त्र तुरुन्त्त सशक्त ढंगबाट परिचालित हुनु पर्ने बताउनुभएको छ । श्रृंखलावद्ध रुपमा भईरहेको हत्या, हिंसा र बलात्कारका घटना तत्काल रोक्न माग गर्दै आगामी दिनमा पनि यस्ता घटनाहरु न्युनिकरण नभएमा सशक्त ढंगबाट बिरोध गर्न पछि नहट्ने बताउनुभएको छ । महिला तथा बालबालिका माथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न माग गर्दै नुवाकोटमा महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरु र्यालीमा सहभागी भएका थिए ।
यस्तै, पछिल्लो चार महिनामा १ सय १८ जना बालिका बलात्कृत भएका छन् । केन्द्रीय बालकल्याण समितिले २०७४ साल चैतदेखि २०७५ असारसम्म सञ्चारमाध्यममा प्रकाशमा आएका बालअधिकार हननका घटनालाई समेटेर तयार गरेको प्रतिवेदनमा यस्तो तथ्य पाइएको हो । प्रतिवेदन अनुसार बालिका बलात्कार भएका घटनामध्ये १४ जना सामूहिक रूपमै बलात्कृत भएका छन् ।
प्रतिवेदन अनुसार सबैभन्दा बढी चैतमा ५७ जना बालबालिका बलात्कृत भएका छन् । जसमध्ये ५५ जना बालिका छन् भने दुई जना बालक जर्मन नागरिकबाट यौन दुव्र्यवहारको शिकार भएको पाइएको छ । यस्तै, वैशाखमा २८ जना, जेठमा १३ र असारमा २२ बालिका बलात्कारको शिकार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बलात्कारमा संलग्न अभियुक्तमध्ये १९ जना बालक नै रहेको छन् भने बाँकी वयस्क रहेका छन् । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालिका बलात्कारका डरलाग्दा र पत्याउनै नसक्ने खालका घटना सार्वजानिक भएकाले यसको नियन्त्रणका लागि अहिले भएका कानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुभएको छ ।
भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको व्यवस्था अनुसार बलात्कारपछि हत्यामा आजीवन कारागारको सजाय हुने व्यवस्था गरिएको छ ।

Advertisement

प्रतिक्रिया