नुवाकोटमा साढे ११ प्रतिशत मत बदर

विदुर खबर २०७९ जेठ ११ गते १९:२७

नुवाकोटमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा साढे ११ प्रतिशत भन्दाबढी मत बदर भएको छ ।

Advertisement

जिल्लाको दुई नगरपालिकासहित १२ स्थानीय तहको प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य पदमा खसेको मतको ११ दशमलव ८३ प्रतिशत मत बदर भएको हो ।

कूल दुई लाख ३७ हजार ४ सय ३४ मतदातामध्ये ७० दशमलव ८० प्रतिशत अर्थात एक लाख ६८ हजार १५५ मत खसेकामा ८९ दशमलव ४१ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

कूल खसेकामध्ये पूर्णरुपमा १७ दशमलव ८१ प्रतिशत अर्थात ३ हजार १७९ बदर भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।

गौतमले मतदाता सङ्ख्या दुई लाख ३७ हजार भएपनि एक मतदाताले सात चिह्नमा मतदान गर्ने भएकाले धेरै मत बदर भएको देखिएको बताए । ‘एक जना मतदाताले सात पटक सात पदमा मतदान गर्नुहुन्छ, तर कतिले सात पदमै गरेको मतदान बदर भएमा पूर्ण मत बदर भन्ने बुझिन्छ जसमध्ये तीन हजार १६९ मतपत्र पूर्णरुपमै बदर भएको पाइयो’, उनले भने ।

Advertisement

गौतमले सबैभन्दा बढी मत गठबन्धका कारण बदर भएको मतगणनाका क्रममा पाइएको बताए । मतदाता शिक्षामा कमी हुनु र एकै मतदाताले फरक–फरक पार्टीका उम्मेदवारलाई मत दिँदा बढी मत बदर भएको देखिएको छ ।

निर्वाचन कार्यालय नुवाकोटका अनुसार जिल्लाको सबैभन्दा बढी बेलकोटगढी नगरपालिकामा मत बदर भएको छ भने सबैभन्दा कम विदुर नगरपालिकामा बदर भएको छ ।

प्रतिक्रिया