विदुरमा राजन र प्रभाले भत्काए एमालेको किल्ला

विदुर खबर २०७९ जेठ ७ गते १५:०६

नुवाकोट । तीन दशकदेखि एमालेको लालकिल्लाको रुपमा रहेको विदुर नगरपालिका नेपाली कांग्रेसका राजन श्रेष्ठ, माओवादी केन्द्रकी प्रभा बोगटी र उसैबाट विभाजित भई गठित एकीकृत समाजवादीले भत्काएका छन् ।

Advertisement

सत्तारुढ गठबन्धनले विदुर नगरपालिकाको मेयरमा कांग्रेसका राजन श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका प्रभा बोगटीलाई उम्मेदवार बनाएको थियो । श्रेष्ठले एमालेका सञ्जु पण्डित र प्रभाले एमालेकै अम्बिका नेपाललाई पराजित गरेर एमालेको लालकिल्ला भत्काएका हुन ।
२०७४ सालको निर्वाचनमा एमालेबाट पण्डित विदुरको मेयरमा विजयी भएका थिए । त्यतिबेला कांग्रेस र माओवादीका उम्मेद्धवारलाई पराजित गरेर मेयरमा एमालेका पण्डित र उपमेयरमा गिता दाहाल विजयी भएकी थिइन ।

एमाले विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको गठबन्धन यो पटक एमालेलाई भारी बन्यो । मेयरमा श्रेष्ठले २५ हजार ८ सय २६ मत प्राप्त गरेर विजयी भए । उनको प्रतिद्वन्द्वी एमालेका पण्डितले १२ हजार १ सय ५४ मत पाएका थिए । उपमेयरमा प्रभाले १२ हजार ६ सय ६० मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी नेपालले ११ हजार ९ सय ९५ मत पाएकी थिइन ।

Advertisement

विदुर नगरपालिकामा ३१ हजार २ सय ३७ मत खसेको थियो । नगरपालिकामा ४४ हजार १ सय ७९ मतदाता रहेका थिए । २०४९ सालदेखि एमालेले विदुर नगरपालिकालाई राजु गर्दै आएको थियो ।

२०७९ वैशाख ३० मा भएको निर्वाचनले एमालेको नेतृत्वबाट विदुर नगरपालिकाले ३० वर्षपछि मुक्ति पाएको छ । २०७४ मा भएको निर्वाचनमा विदुरको मेयर उपमेयरसहित ७ वडामा एमाले विजयी भएको थियो । यस निर्वाचनमा एमालेले मेयर, उपमेयरमात्र गुमाएको होइन ५ वडाध्यक्षमा सिमित हुन पुगेको छ । अघिल्लो निर्वाचनमा ६ वटा वडाध्यक्षमा सिमित रहेको कांग्रेसले अहिले मेयरसहित ५ वडामा जित हासिल गरेको छ । माओवादी केन्द्रले ३ वडामा अध्यक्ष जितेको छ भने समाजवादीले कुनै वडामा जित हासिल गर्न सकेन । विदुर नगरपालिकामा १३ वडा रहेका छन ।

Advertisement

सत्तारुढ दलको गठबन्धनमध्ये धेरै मतदाता भएको र ठूलो दल कांग्रेस भित्रको चर्को विवाद, माओवादी केन्द्र, एकीकृत समाजवादीको संगठनको आधार कमजोर रहेको अवस्थामा उमेदवारीसँगै विजयको माला लगाइरहेको एमालेले विदुरमा यस्तो नतिजा आउँछ भनेर कल्पनासमेत गरेको थिएन ।

नुवाकोटको एमाले नेतृत्वमा कार्यकर्ताहरूको भावना नबुझ्ने,व्यक्तिवादी एवं गुटगत चिन्तन, पुस्तान्तरण नगर्ने र पार्टीभित्र अलोकतान्त्रिक प्रणालीलाई प्रश्रय दिएका कारणले विदुर नगरपालिकालगायत सिंगो जिल्लामा पराजय भोग्नु परेको वाम वुद्धिजिवीहरु बताउँछन् ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा ३ पालिका प्रमुख जितेको एमालेले यस निर्वाचनमा जिल्लाको किस्पाङ गाउँपालिकाको अध्यक्ष जित्नुवाहेक अन्य पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा निल हुन पुगेको छ । जसले एमालेको शक्ति घट्दै गएको स्वयम एमालेका नेताहरुले पनि बताउँदै आएका छन् ।

प्रतिक्रिया