अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह ,सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिदा व्यवसायी मर्कामा

विदुर खबर २०७५ भदौ ८ गते १:५३

 

नुवाकोट , नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ । 
सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर व्यवसायी मर्कामा परेकाले सो राजमार्ग खुलाउन आग्रह गरिएको महासङ्घका अध्यक्ष नरेश कटुवालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, राजमार्गका कारण अर्बौँ रुपैँया बराबरको सामान नेपाल भित्रिन नसकेकाले व्यवसायी मारमा परेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
व्यवसायीले बैँक तथा वित्तीय क्षेत्रबाट चर्को व्याजदरमा रकम लिएर लगानी गरेका ती सामान नेपालमा भित्रिन नसक्दा हजारौँ व्यवसायी ठूलो मर्कामा परेका र कच्चा पदार्थ रोकिँदा उद्योगलाई समेत समस्या परेको जनाइएको छ । 
नेपालको आर्थिक समृद्धिको मुख्य आधारशिलाका रूपमा रहेको एक मात्र रसुवागढी नाका बन्द हुँदा हजारौँ व्यवसायी, उद्योगी, मजदुर, यातायात व्यवसायीलाई समेत असर परेको उल्लेख छ । रसुवाको राजमार्ग साउन ११ गते परेको भारी वर्षाका कारण पहिरो गएर अवरुद्ध भएको थियो । 

Advertisement

 

 

Advertisement

 

प्रतिक्रिया