नुवाकोट बेलकोटगढीकी महिलाको अन्धविश्‍वासकै कारण हत्या

विदुर खबर २०७८ असोज २५ गते ८:४३

नुवाकोट । पासो लगाएर आत्महत्या गर्दा प्रयोग गरिएको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर ललितपुरमा एक महिलाको हत्या भएको छ । हत्याको आरोपमा महानगरीय अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेका छ ।

Advertisement

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ गाउँपालिका–५ प्याङचे टोल घर भई ललितपुर महानगर–२८ हरिसिद्धि नयाँबजार बस्ने २३ वर्षीय सविन प्रजा, उनकी पत्नी १८ वर्षीया प्रविना प्रजा र मोरङ पथरी शनिश्चरे नगरपालिका–८ मंगलबारे घर भई हरिसिद्धि बस्ने २० वर्षीय सुमन मगर छन् ।

उनीहरुले नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई ललितपुर महानगर–२७ सुनकोठी बस्ने ४५ वर्षीया कमला तामाङको डोरीले घाँटी कसेर हत्या गरेको अनुसन्धानमा खुलेको छ । महाशाखा प्रमुख एसएसपी चन्द्र कुबेर खापुङका अनुसार भदौ २५ गते बिहान साढे ६ बजे सुनाकोठीस्थित टहरामा कमलाको शव शंकास्पद अवस्थामा फेला परेको थियो ।

Advertisement

प्रहरीले शंकास्पद अवस्थामा शव फेला पारेपछि अनुसन्धान गर्दा पासो लगाएर मान्छे मरेको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर उनीहरुले कमलाको हत्या गरेको खुलासा भएको एसएसपी खापुङले बताए । हत्याको आरोपमा प्रहरीले झण्डै एक महिनापछि असोज २१ (बिहीबार) सुमन मगरलाई हरिसिद्धिबाट पक्राउ गरेको हो ।

सुमनलाई पक्राउ गरेपछि यस्तो तथ्य फेला परेको र हत्यामा संलग्न सविन प्रजा र उनकी पत्नी प्रविना प्रजा माझीलाई महाशाखाले शुक्रबार मकवानपुर मनहरी गाउँपालिका–७ बाट पक्राउ गरेको हो । हत्या आरोपी तीनै जनालाई महाशाखाले आइतबार सार्वजनिक गरेको छ ।

Advertisement

‘उनीहरूले मान्छे पासो लगाएर मरेको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने कुरा कतैबाट सुनेका रहेछन्,’ एसएसपी खापुङले भने, ‘सुनेकै भरमा एक्लै बसेकी महिलाको हत्या हुन पुग्यो ।’

सविन र सुमनले मानिस पासो लागी मरेको डोरीसँगै राम–लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायत वस्तुहरू करोडौं रुपैयाँमा बिक्री हुने हल्ला सुनेका थिए । ‘सो हल्ला कहाँबाट सुनेको भन्ने चाँहि खुलेको छैन,’ एसएसपी खापुङले भने ।

प्रहरी अनुसन्धान अनुसार भ्रामक योजना बनाएर उनीहरूले डोरीका लागि कमलालाई निशानामा राखेका थिए । एक्लै बस्ने, हिमचिम भएको र सँगै बसेर मदिरासमेत खाने गरेकी कमलालाई सुमन, सविन र प्रविनाले हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुमन र कमलाबीच पुरानै चिनजान भएकोसमेत बताइएको छ ।

कमला आफ्ना श्रीमान र छोरासँग छुट्टिएर ज्यामी काम गरेर गुजारा चलाउँदै आएकी थिइन् । भदौ २४ गते साँझ सुमन र सविनले आफूहरू टहरामा बस्न आउने भन्दै कमलालाई फोन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरु रक्सी लिएर साँझ कमलाको टहरामै पुगे र सँगै पिएर राति सँगै सुते ।

महाशाखाका डिएसपी निशान थापाका अनुसार उनीहरुले हत्या गर्ने योजना बनाएर इनारमा प्रयोग हुने ३ फिट लामो डोरी साथमै लिएर गएका थिए । हत्यापछि डोरीसँगै कमलाले कानमा लगाएको गहना, मोबाइलसमेत लिएर भदौ २५ गते बिहानै उनीहरु टहराबाट हिँडेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

घटनापछि पासो लगाइएको डोरी र कमलाले कानमा लगाएका गहनासमेत नक्कली भएको भन्दै फ्याँकेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरीले हत्यामा प्रयोग भएको डोरी र गहना भने पत्ता लगाएको छैन । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त चापागाउँ पठाइएको छ । लिला श्रेष्ठले कान्तिपुर दैनिकमा खबर लेख्नुभएको छ ।

प्रतिक्रिया