रसुवागढी पुग्ने सडकमा फ्लाइओभर बन्दै,दुई वर्षमा निर्माण सक्ने लक्ष्य

विदुर खबर २०७८ असोज १४ गते ११:३१

नुवाकोट । उत्तरी नाका रसुवागढी पुग्ने सडकमा १ अर्ब रुपैयाँ खर्चेर फ्लाइओभर निर्माण गरिने भएको छ। गल्छी – त्रिशुली – मैलुङ – स्याफ्रुवेशी – रसुवागढी सडक योजनाले त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको पावरहाउस नजिकै फ्लाइओभर निर्माण गर्न लागेको हो।

Advertisement

आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार उक्त खण्डमा करिव ४ सय मिटर सडक अत्यन्त साँघुरो चार मिटर चौडाइको मात्रै छ। विस्तार गर्न नमिल्ने अवस्था भएकाले फ्लाइओभर निर्माण गर्ने योजना बनाइएको हो। 

आयोजनाले परामर्शदाता हायर गरेको बेसलाइन सर्भे अनुसार करिव ६ सय मिटर लम्बाईको फ्लाइओभर निर्माण गर्न लागिएको हो। फ्लाइओभरमा ३३ मिटरसम्म अग्ला १२ वटा पेयर हुनेछ।  चौडाइ ७.५ मिटर (दुई लेन) को हुनेछ।

Advertisement

डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट ठेक्का लगाउन लागिएको हो। यस्तो प्रक्रियाबाट ठेक्का पाउने कम्पनीले डिजाइनदेखि निर्माण सम्मको काम आफैले गर्नुपर्छ। तर ठेक्का लगाउने निकायको स्वीकृति भने लिनुपर्छ। फ्लाइ ओभर दुई बर्षमा निर्माण सक्ने लक्ष्य लिइएको छ। आयोजनाका अनुसार ६ महिना डिजाइन गरिसक्नुपर्नेछ।

आयोजनाले खरिद प्रक्रिया अघि बढाउन सडक विभागमा स्वीकृति लागि प्रस्ताव गरेको छ। विभागले स्वीकृत गरेपछि खरीद पक्रिया अघि बढाइने भण्डारीले बताए। आयोजनाले गरेको अध्ययनले उपयुक्त विकल्प फ्लाइओभर दिएपछि प्रक्रिया अघि बढाइएको हो।

Advertisement

१० वटा ओभरहेड ब्रिज निर्माण हुने 
त्यसै गरि सडकलाई पैदल यात्रुमैत्री बनाउन १० स्थानमा ओभरहेड ब्रिज निर्माण गरिने भएको छ। त्यसका लागि आयोजनाले इस्टिमेट तयार पारिरहेको छ।

५ वटा ओभरहेड ब्रिजको इस्टिमेट तयार भइसकेको छ।  बजार, बस्ती क्षेत्र, पैदलयात्रुहरु धेरै हुने ठाउँहरुमा सडक पार गर्न ओभरहेड ब्रिज निर्माण गर्न लागिएको हो।

विदुर, बटार, ढुङगे, वेत्रावती, गंगटे, गल्छी , लगायतका स्थानमा निर्माण गर्न लागिएको हो। एउटा  ओभरहेड ब्रिजका लागि पाँच करोड लाग्ने अनुमान गरिएको छ।

सडक निर्माण सुस्त गतिमा 

रसुवागढी पुग्ने सडक गल्छी – मैलुङ  ४६ (किमी), मैलुङ – स्याफ्रुवेशी (१९ किमी) र स्याफ्रुवेशीदेखि रसुवागढी (१७ किमी) गरि तीन खण्ड निर्माण अघि बढाइएको छ। तीनमध्ये दुई खण्डमा काम भैरहेको भएपनि अपेक्षित गतिमा हुन सकेको छैन्।

पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म आर्थिक बर्ष २०७२/७३ मा ठेक्का लगाएर काम भइरहेको छ। जसको ७० प्रतिशत काम सकिएको छ। कुल ४६ किमीमध्ये २५ किलोमिटर कालोपत्रे भइसकेको छ। आयोजनाका अनुसार ६ किमीमा अदालतले स्टेअर्डर दिएका कारण काम हुन सकेको छैन।

करिव पाँच किमी कटिङ गरेर सडक फराकिलो बनाउने काम बाँकी नै छ। साइट क्लियर नै नगरि ठेक्का लगाएर काम सुरु गरेका कारण समयमा सडक निर्माण हुन नसकेको हो। दुई बर्ष पहिलेनै पुरा भैसक्नुपर्ने आयोजनाको काम कुनै समस्या नआए आगामी एक बर्षमा सक्ने लक्ष्य राखिएको छ। यो सडकको कोभेक (चिनियाँ)/ तुन्दी / रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ।

दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुवेशीसम्मको अहिले ठेक्का लागेर काम चलिरहेको छ।  यो सडकको २० प्रतिशत काम पुरा भएको छ। गत बर्ष ठेक्का लागेर काम सुरु भएको हो। ३० महिना सक्ने भनिएको काम बर्षदिनमा ३० प्रतिशत मात्रै सकिएका कारण समयमा नै सकिनेमा आयोजनाका अधिकारीहरु नै सशंकित छन्।

१ अर्ब ४५ करोड रुपैयाँमा भारत/ सिद्धिसाई जेभीले ठेक्का पाएको हो। यो आयोजनामा२३ करोड खर्च भैसकेको छ। यो सडकको ट्रयाक नेपाली सेनाले खोलेको थियो। यो सडकको ट्रयाक खोलेर संचालनमा आएपछि त्रिशुलीको किनारै किनार स्याफ्रुवेशी पुग्न सकिन्छ। धुन्चे पुगेर पुन:तलतिर  झर्नुपर्दैन।

तर अहिले यो सडकमा ठुला ठुला ढुङगा झरेका कारण बन्द छ। ढुङगाहरु हटाएर सडक संचालनमा ल्याउने तयारी भैरहेको भण्डारीले बताए। उनले केही दिनमा सडक संचालनमा आउने दाबी गरे।

तेस्रो खण्ड अर्थात  रसुवागढीसम्म जोडिने अन्तिम खण्डको काम अघि बढ्न सकेको छैन। चिनियाँले नै बनाउने भनेर दुई बर्ष अघि ग्राउण्ड ब्रेकिङ सेरोमोनी गरेका थिए।  करिव ४ अर्ब खर्चेर १७ किमी सडक विस्तार गर्न लागिएको हो।

आगामी एक बर्षमा सरकारले रसुवागढी पुग्ने सडक डेडिकेटेड डबल लेनको बनाउने योजना रहेपनि अझै तीन बर्ष बढी लाग्ने देखिएको छ। टोखा – छहरे (७ किमी) र वेत्रावती – स्याफ्रुवेशी (२४ किमी) सुरुङमार्ग बनाउने योजना अलपत्रनै छ।

प्रतिक्रिया