चार अर्बमा बन्ने धरहराको प्रस्ताव अगाडि बढ्यो, चीनको परीक्षण पश्चात अब भदौ १ मा उपयुक्त कम्पनी छनोट

विदुर खबर २०७५ साउन ३१ गते ९:५७

Advertisement

काठमाडौं,करिब चार अर्ब रुपैयाँ खर्चगरेर बनाउन प्रस्ताव माग गरिएको धरहराको औपचारिक प्रक्रिया अब भने आगाडि बढ्ने भएको छ ।पटक पटक विभिन्न कारणले अवरोध भएको धरहरा निर्माणमा अब भने कुनै अवरोध र समस्या नरहेकोले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रस्ताव माग गरेका पाँचैवटा कम्पनीको आर्थिक प्रस्ताव खोल्ने र उपयुक्त कम्पनीलाई धरहरा बनाउन जिम्मा दिने भएको छ ।

प्राधिकरणले आगामी भदौ १ गते बिहान ११ बजेलाई धरहरा निर्माण गर्न प्रस्ताव पेश गर्ने कम्पनीहरूको आर्थिक प्रस्ताव खोल्ने र उपयुक्त कम्पनीलाई छनोट गर्ने भएको छ । यस अघि असार २६ गते र साउन २९ गते खोल्ने भनिएको प्रस्ताव स्थगित भएर भदौ १ गते पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले बताए ।

Advertisement

घिमिरेले मंगलबार  भने ‘ चीनले आफ्ना देशका कम्पनीले प्रस्ताव हालेको र परीक्षण गर्नुपर्ने माग गरेको भन्दै फाइल तानेको थियो । चीनले यो प्रस्ताव परिक्षण गर्नु नपर्ने भन्दै दूतावासबाट फाइल फिर्ता आएकोले अब प्राधिकरणले नै आफ्नो प्रक्रिया अनुसार यसलाई अगाडि बढाउने भएको छ ।सोही प्रक्रिया अनुसार आज खाल्ने भनिएको प्रस्ताव प्राविधिक कारणबस भदौ १ गतेलाई सारिएको हो ।’, पटक पटक प्रस्ताव खोल्ने मिति सारिएको यो योजनाको अब भने भदौ १ गते आर्थिक प्रस्ताव खोलेपछि सबैभन्दा कम पैसा कबोल गर्नेलाई छनोट गरेर सम्झौता हुने भएको छ ।

पूर्व कार्यातालिका अनुसार सम्झौता भएको २ वर्ष भित्रै निर्माण कम्पनीले २०७२ बैशाखको भूकम्पले ढलेको धरहराको निर्माण गर्ने भएको छ ।प्राधिकरणले गत बैशाख ३१ गते धरहरा निर्माण गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो । उक्त प्रस्तावबाट गत असार २० गतेसम्म धरहरा निर्माणका गर्न आवेदन दिने कम्पनीमध्येबाट ५ वटा प्रारम्भिक छनोटमा परेका छन् ।यी कम्पनीमध्येबाट प्राधिकरणले असार २६ गते नै आर्थिक प्रस्ताव खोल्ने तयारी गरेपनि प्रारम्भिक छनोटमा परेकै मध्येको एउटाले उजुरी दिएपछि यसको प्रक्रिया तत्कालाई रोकिएको थियो । सो प्रक्रिया रोकेर प्राधिकरणले आज मंगलबारसम्मलाई प्रस्ताव खोल्ने तयारी गरेको थियो ।

Advertisement

धरहरा बनाउन करिब ४ अर्ब २७ करोड लाग्ने अनुमान छ । यो रकममा धरहराको मूल भाग निर्माणका लागि १ अर्ब १२ करोड खर्च हुने अनुमान प्राधिकरणको छ ।धरहरा निर्माणपछि यसको व्यवस्थित सञ्चालन गर्न आवश्यक पार्किङ बनाउनुपर्ने छ । यसका लागि हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । बाँकी लागत भने धरहरा वरपर आकर्षण दिन बनाइने वाटर फाउण्टेन, म्युजियम, गार्डेन, हरियाली तथा आगन्तुकको व्यवस्थित स्थानसहितमा हुने पनि उल्लेख छ ।

नयाँ बन्ने धरहरा २२ तलाको हुने छ भने १४५ फिट अग्लो हुन्छ । धरहरामा २ वटा लिफ्ट हुन्छन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्कोले ८ जनालाई ओराल्ने काम गर्ने पनि प्राधिकरणले स्वीकृत गरेको पुरातत्व विभागले तयार पारेको नयाँ डिजाइनमा उल्लेख छ । यो धरहरा बनाउँन पाँच वटा कम्पनी प्रतिस्पर्धामा छन् । प्राधिकरणले प्राविधिक रुपमा स्वीकृत गरेका यस्ता पाँच कम्पनीमा जेटआईईसी–लामा जेभी, सीआरएससीईसी–स्वाच्छन्द जेभी, कुमार सीएफईसी जेभी, जीआईईटीसी–रमन जेभी र सीआईसीओ–कालिका–रसुवा जेभी रहेका छन् ।

प्रतिक्रिया