नुवाकोटका सुवासको अस्पताल चहार्दा चहार्दै गुम्यो ज्यान

विदुर खबर २०७८ साउन २७ गते १७:५१
सूचक फोटो

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं. ५ छेटन निवासी वर्ष २२ का सुवास तिम्सिनालाई घरमै पालिएको कुकुरले टोक्यो ।

Advertisement

टोकाइ सामान्य भएको र रगत पनि नबगेको भन्दै औषधि गर्नेतिर खासै ध्यान दिइएन, सुवासले पनि कुकुरलाई रेबिजविरुद्धको सुई लगाइएकोले पर्दैन, पर्दैन भनेर टारिरहनुभयो । तर झन्डै ५ हप्तापछि सुवासमा पानी खाना नसक्ने, जाडो हुने, ज्यान दुख्ने, सामान्य ज्वरो आउने, वाकवाक लाग्ने, र्‍याल. सिँगान चुहिने लक्षण देखिन थाल्यो । तिम्सिनालाई रेबिज भएको अनुमान गरी बुबा कृष्णप्रसाद तिम्सिना, काका गोकर्ण तिम्सिनालगायत परिवारका सदस्यहरुले साउन २६ गते (मंगलबार) उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्‍याउनुभयो । तर जिल्ला अस्पतालले काठमाडौंको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा रेफर गरिदियो ।

बिरामी लिएर मंगलबार दिउँसो करिब ३ बजे काठमाडौं पुगे सुवासका आफन्त । त्रिशूली अस्पतालले भनेबमोजिम सुवासका दाइ टेकु अस्पतालमा बुझ्न पुगे । तर टेकु अस्पतालमा ‘दुई वर्षदेखि कोभिडमात्रैको उपचार हुँदै आएकोले सुवासको उपचार  सम्भवै छैन’ भनियो । टेकुकै चिकित्सक कर्मचारीको सल्लाह र विकल्प हुन्छ कि भनेर वीर अस्पताल लगियो ।

Advertisement

सुवासका काका गोकर्णका अनुसार वीरले पनि ‘आईसीयू खाली छैन । यस्तो बिरामी राख्न सकिँदैन । यसका लागि छुट्टै बेड चाहिन्छ अँध्यारो खालको । त्यस्तो बिड छैन । टिचिङ लानु’ भन्यो । चिकित्सक र कर्मचारीको सुझावअनुसार टिचिङ अस्पताल पुग्‍याइयो तिम्सिनालाई ।

टिचिङमा उपचार हुने आशमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगियो ।  टिचिङले पनि ‘आइसीयू छैन । नर्मलमा राख्न सकिन्न. अरु संक्रमित हुन सक्छन् । औषधि छैन, औषधि टेकुबाट ल्याउनुपर्छ’ भन्यो ।

Advertisement

सुवासका आफन्तले औषधि हामी औसार्छौंं नि भन्दा भर्ना गरिदिएन । फेरि वीर अस्पतालमै फर्काइदिए । तिम्सिना परिवार सवार एम्बुलेन्स फेरि वीरमै हान्नियो । दोहोरिएर वीर अस्पताल पुगेका उनीहरुलाई यो रेबिजको उपचार टेकु शुक्रराज ट्रपिकल अस्पतालमा गर्छ भनेर त्यता जान सल्लाह दियो । त्यो बीचमा चार/पाँच जनाको समूहमा रहेका सुवासका आफन्त अस्पतालहरु चाहर्ने, सोधखोज गर्नमा व्यस्त थिए ।

जनताको साथमा रहने जनप्रतिनिधि सम्झे । त्यसपछि नुवाकोट निर्वाचन क्षेत्र नं १ का सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङलाई एक जनाले फोन गरे । सांसद तामाङले पनि वीर अस्पतालको निर्देशक भूपेन्द्रकुमार बस्नेत लाई फोन गरेर घटनाको सबै विवरण सुनाउनुभयो । बस्नेतले ‘उपचार वीर अस्पतालमै गर्ने हो । तल्लो तहका कर्मचारीहरुले कहिलेकाहीं लापरबाही गर्ने गरेको र सेवाग्राहीहरुलाई सही सूचना नदिनाले दु:ख पाउने गरेको तथा कहिलेकाहीं त अन्य बिचौलियाहरुले पनि त्यस प्रकारको भूमिका खेल्छन् कि के हो, यस्ता समस्याहरु आउने गरेका छन् । बिरामीलाई पठाइदिनुस् । इमर्जेन्सी वार्डमा लैजानु भनिदिनुस् भने ।’

सांसदसँग बस्नेतको वचनअनुसार तिम्सिनालाई राति अबेर फेरि वीर अस्पतालमा पुर्‍याइयो । तैपनि इमर्जेन्सीका कर्मचारीहरुले बिरामी राख्न मानेन । तिम्सिना परिवारलाई वीरका कमर्चारी र डाक्टरले अटेर गरेपछि फेरि सांसद गुहारे । त्यतिबेला रातको पौने १० बजिसकेको थियो ।

सांसद तामाङले बिरामी त तपाईंका कर्मचारीले अहिले पनि राख्न मान्दैन रे त ? भन्नुभयो । बस्नेतको जवाफ ‘मैले भर्खरै बुझेँ बिरामी सिरियस रहेछ । आईसीयूमै राख्नु पर्ने रहेछ । अहिले वीरमा आईसीयु खाली छैन । आज एक रातलाई अन्त कतै आईसीयु खाली भएको ठाउँमा पठाइदिनुस् । खाली भएपछि म वीरमै ल्याएर उपचार गराइदिन्छु ।’

बिरामी सिकिस्त हुँदै जानु र काठमाडौंका अस्पताल चहार्दा चहार्दा बिरामीका आफन्त पनि थकितप्राय बनिसकेका थिए । तैपनि कर्तव्य हो । जिम्मेवारी हो । वीर अस्पतालमा दुई-दुई पटकसम्म जाँदा पनि उपचार नगरेकोले तिम्सिना परिवार बिरामीलाई लिएर ललितपुरको पाटन अस्पतालमा पुगे । त्यहाँ पनि बिरामी भर्ना नलिएपछि बिरामीका आफन्तहरु उपायको खोजीमा सोचमग्‍न भए । एक पटक निजीमा कोसिस गरे उनीहरुले । राति १२.४५ मा वीरबाट ओम अस्पतालमा पुर्‍याए तिम्सिनालाई । कोरोना भाइरस संक्रमणका बिरामी उपचार गर्न तर्सिने गरेको निजी अस्पताल ओम अस्पतालले पनि बिरामी राख्न चाहेन । भर्ना लिएन । मंगलबार बिहानै नुवाकोटबाट काठमाडौं पुर्‍याइएको बिरामी गलिसकेको अवस्थामा थिए ।

काठमाडौंका जेठो वीरदेखि चर्चाका सरकारी र निजीसम्मका अस्पताल धाउँदा धाउँदा उपचारको मेसो नमिलेपछि बिरामीका आफन्तहरु निराश भए । यत्तिका अस्पताल घुम्दा नपाएपछि कहाँ जाने त ? बरु बिरामी घरमै फर्काएर लैजाने निधोमा पुगे तिम्सिनाका आफन्त ।

त्यहीअनुसार राति नै धादिङको गल्छी हुँदै घर लैजाँदै गर्दा बुधबार बिहान ३:५० बजे लब्दुदेखि पूर्व सूर्यगढी ५ को माछापोखरी नजिक पुगेपछि सुवासको देहावसान भयो । बिरामीले अन्तिम श्वास छोड्ने ठाउँ, जहाँबाट ७ मिनेटको पैदल दुरीमा थियो, उहाँको घर । कृष्णप्रसादका माइला सन्तान सुवास स्थानीय घाटमा बुधबार बिहान नै अन्त्येष्टि गरिएको छ ।

बेलामा रेविजविरुद्धको सुई लगाउनै पर्ने चेतना र उपचारको व्यवस्था नहुँदा सुवासले अल्पायुमै संसार त्याग्नु पर्‍यो ।

काका गोकर्ण भन्नुहुन्छ – ‘हामीले बेलैमा सुई नलगाउनु कमजोरी भए होलान् । तर हाम्रो जस्तो बिरामी राख्ने ठाउँ कहीं न कहीं हुनुपर्‍यो । रेबिज लागेको बिरामीलाई सडकमै फालिदिने ? गभर्मेन्टले  कतै राख्ने ठाउँ बनाइदिनु पर्छ । नत्र कालो सुइ लगाइदिए भइगो नि ! देशभर नै कुनै न कुनै सेफ गरेर राख्ने ठाउँ नभएकोमा सारै दु:ख लाग्यो ।’

प्रतिक्रिया