हराएको भत्ताबारे सत्यतथ्य सार्वजनिक गर्न जनप्रतिनिधिको निर्देशन

विदुर खबर २०७८ असार २ गते २०:४१

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङसहितको टोलीले पञ्‍चकन्या गाउँपालिका २ मा सामाजिक सुरक्षा भत्ता हराएको विषयमा छिटोभन्दा छिटो सत्य तथ्य सार्वजनिक गर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय विदुरमा मंगलबार जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसहित सरोकारवालाबीच भेटघाट आयोजना गरी आवश्यक सल्लाह तथा निर्देशन दिइएको हो । गत चैत्र २४ गते राति पञ्चकन्या गाउँपालिका वडा न. २ को कार्यालयबाट वृद्ध भत्ता वितरणको ५० लाख र वडाले संकलन गरेको राजस्वसहित ५३ लाख हराएको थियो ।

‘वृद्ध भत्ता हराएको करिब अढाई महिना हुनलाग्दा पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्न नसक्नाले निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय र राज्य /सरकार प्रति नै अविश्वास बढ्न सक्ने र त्यसले अन्ततः मुलुकको लोकतन्त्र प्रति नै अनास्थ बढ्न सक्ने भएकोले प्रशासन तथा सुरक्षा निकायले छिटोभन्दा छिटो घटनाको सत्यतथ्य सार्वजनिक गर्न सल्लाह दियौं,’ सांसद हितबहादुर तामाङले बताए ।

Advertisement

जनप्रतिनिधिहरुको टोलीले घटनाको छिटो सार्वजनिक गर्न नसक्दा सुरक्षा निकायप्रति जनाएको अविश्वास बढ्ने, निराशा पैदा हुनेमात्रै नभई राज्य र लोकतन्त्रलाई असहयोग गर्न खोज्ने तत्वहरुले घटनाको तोडमरो गरी समाजमा द्वन्द्व चर्काउने, अनुसन्धान तथा छानबिन प्रक्रियालाई जटिल बनाउने एवम् पीडित पक्षलाई न्याय पाउन ढिलो हुने जस्ता समस्याहरु आउन सक्ने तर्फ टोलीले प्रशासन र सुरक्षा निकायहरुको ध्यानाकर्षण गराएको छ ।

टोलीको तर्फबाट सांसद तामाङले भनेका थिए, ‘अपराधमा संलग्न व्यक्ति जो सुकै होउन् उसलाई छिटोभन्दा छिटो कानुनी कारबाही हुनु पर्‍यो र पीडित तथा वृद्धहरु छिटो भत्ता पाउने व्यवस्था हुनु पर्‍यो । त्यसको लागि हामीले के सहयोग गर्नु पर्‍यो, गर्न तयार छौं ।’

Advertisement

छलफलमा नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता तथा पञ्चकन्या वडा नं. १ का अध्यक्ष मणिनाथ लामिछानेले वृद्ध भत्ता चोरी सम्बन्धी घटनाको सत्यतथ्य छिटो सार्वजनिक हुन नसक्दा त्यस वडाका वृद्धहरुले समयमा भत्ता पाउन नसकी मर्कामा परेको र केही गलत तत्वहरुले घटनालाई अनावश्यक राजनीतिकरण गरी पालिकाको नेतृत्वलाई समेत विवादमा मु्छ्ने प्रयत्न भइरहेको उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न अझै ढिलो भए थप समस्या पैदा हुने बताए ।

त्यस अवसरमा जिल्लामा कोभिड-१९ को अवस्था र अन्य समसामयिक विषयहरुमा पनि छलफल भएको थियो ।

प्रशासन र सुरक्षा निकाय प्रमुखहरुले छलफलमा पञ्चकन्या-२ मा भएको घटनाको अनुसन्धान अन्तिम-अन्तिम चरणमा पुगेको भन्दै केही दिनमै खुलासा हुने प्रतिबद्धता जनाए । साथै उनीहरुले घटनाका सम्बन्धमा भए गरेका काम निष्पक्ष रुपमा हुने र भइरहेको जानकारी दिएका पञ्‍चकन्या वडा नम्बर १ का वडाध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिए ।

भेटघाट तथा छलफल कार्यक्रममा पूर्वजिल्ला उपसभापति तथा नेकपा (माओवादी केन्द्र) प्रदेश सचिवालय सदस्य रामप्रसाद ढुंगाना, जिल्ला सचिवालय सदस्य प्रमोदलाल श्रेष्ठ, सचिवालय सदस्य मणिनाथ लामिछाने, जिल्ला नेता इन्द्रबहादुर पण्डित, विदुर नगर समितिका इञ्चार्ज रामचन्द्र पौडेल, पञ्चकन्या गाउँ समितिका अध्यक्ष मिनबहादुर केसी, नेताहरु कृष्ण बोहरा, वासु ठकुरी, छिरिङ दोर्जे तामाङलगायत सहभागी थिए ।

प्रतिक्रिया