कर्मचारीको तलब र बृद्ध भत्ताले थेग्न नसक्ने गरी बजार भाउ उकालो लाग्यो

विदुर खबर २०७८ जेठ २५ गते १५:३२

नुवाकोट । बजेटमा कर्मचारीको तलब र बृद्ध भत्ता बढाउने व्यवस्था भएसँगै बजार भाउ आकासिएको छ।

Advertisement

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि तलब र बृद्ध भत्ता बढाउने व्यवस्था गरेसँगै बजार भाउ पनि उकालो लाग्न थालेको हो।

हिले सबैभन्दा बढी मूल्य खाने तेलमा बढेको छ। त्यसपछि मासुको भाउ बढेको छ।

Advertisement

खाने तेल साढे दुई महिनायता लिटरमै ७५ रुपैयाँसम्म बढेको छ। साढे दुई महिनाअघि १४५ देखि १६० रुपैयाँ पर्ने एक लिटर सोयाबिन तेलको मूल्य बढेर २२० रुपैयाँदेखि २३५ रुपैयाँसम्म पुगेको छ।

प्रतिलिटर २३५ रुपैयाँ पर्ने सनफ्लावर तेल अहिले ३०० रुपैयाँसम्म पुगेको छ। तोरीको तेल पनि २७५ रुपैयाँदेखि २९० रुपैयाँसम्ममा बिक्री भएकोमा ३३० रुपैयाँसम्म पुगेको छ।

Advertisement

त्यसैगरी, मासुको मूल्य पनि बढेको छ। केही महिना अघि ३१० रुपैयाँमा पाइने कुखुराको मासु अहिले ४५० भन्दा बढी पुगेको छ। यसैगरी, गेडागुडी र तरकारीको मूल्य पनि बढेको छ।

६ लाख कर्मचारीको तलब बढ्दा ३ करोड जनता महँगीको मारमा

आगामी साउन १ देखि करिब ६ लाख कर्मचारीको तलब बढ्ने भएको छ। तर उनीहरुको तलब नबढ्दै मँहगीले निकै उचाई चुमेको छ।

तीन करोड जनसंख्या रहेको नेपालमा जम्मा ६ लाख अर्थात २ प्रतिशत कर्मचारीको तलब सामान्य बढ्दा आकासिएको महँंगीले भने सबैलाई मारमा पारेको छ।

गहुँ पिस्दा घुन पिसिएजस्तै करिब दुई प्रतिशत मात्र कर्मचारीको तलब बढ्दा अन्य ९८ प्रतिशत नागरिकको तलब बृद्धि नभएपनि महँगीको मारमा भने ती कर्मचारी सरह नै पर्ने गरेका छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलव २ हजार रुपैयाँ बढाएको छ। कर्मचारीको बढेको तलब पाउनु अघि नै बजार भाउ उकालो लागेको छ।

साउनदेखि कर्मचारीको तलब बढ्ने भएको छ। त्यसरी बृद्धि भएको तलबले कर्मचारीको जेनतेन खर्च धान्न सक्ला। तर, जसको तलब बढेको छैन्, उनीहरुले खरिद गर्ने वस्तुको भाउ समेत बढेको छ। यसले तलब बृद्धि नभएका नागरिकको जीवनयापनमा निकै असर पार्नेछ।

व्यवसायीले तलब र बजेट देखाएर सामानको भाउ बढाउने गरेका छन्। सरकारले मूल्य बृद्धि नियन्त्रण नगरेपछि तलब बढेका कर्मचारीले समेत खासै राहत महसुस गर्न सक्ने अवस्था छैन। २ हजार रुपैयाँले बढ्ने कर्मचारीको तलब र ४ हजार पुन्ने बृद्ध भत्ताले पनि मंहगीलाई थेग्न सक्ने सम्भावना देखिएको छैन। त्यसमा निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब वृद्धि नहुँदा उनीहरुलाई अझ मार पर्ने गरेका छन्।

कर्मचारीको तलब बृद्धि सम्बन्धी निर्णयले सर्वसाधारणमा एक प्रकारको वितृष्णा पैदा गर्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बताए। ‘सरकारी कर्मचारीको तलब वृद्धिको असर अन्य नागरिकमा पनि परेको छ,’ उनले भने, ‘सरकारले यसको समाधानका बारेमा बेलैमा सोच्नुपर्छ।’

सरकारले आगामी साउनदेखि लागू हुने गरी कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेपनि दैनिक उपभोग्य वस्तुको मूल्य भने पहिलेदेखि नै बढ्न थालेको हो। व्यापारीहरुले पहिलेदेखि नै कर्मचारीको तलब बढेको जस्तोगरी दैनिक उपभोग्य सामग्रीको मूल्य बढाएका छन्।

कर्मचारीको तलब वृद्धिकै अनुपातमा महँगी पनि बढेको छ। कर्मचारीको तलब २ हजारले बढेको छ, बजार भाउ त्यो भन्दा बढीले बढेको छ। तरकारी, दाल, तेललगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ।

बजेटमा कर्मचारीको तलब र बृद्ध भत्ता बढाउने सुइको पाएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको एक जना उपभोक्ता हित संरक्षणकर्मीले बताए। ‘कृत्रिम तरिकाले दैनिक उपभोग गर्ने खाद्यान्नको मूल्य बढाइएको छ,’ उनले भने। सरकारले उचित नियमन गर्न नसकेका कारण मूल्य बढेको हो।

बजेटपछि विशेष गरी दाल, तेल, मासुलगायतका वस्तुको मूल्य बढेको खुद्रा व्यापारीहरु बताउँछन्।
कर्मचारीको तलब, जेष्ठ नागरिकको भत्ता बढेको भन्दै दाल, तेल, तरकारी, फलफूलदेखि खाद्यवस्तुमा समेत मूल्य कृत्रिम तवरले व्यवसायीले बढाएका छन्।

सरकारी अनुगमन कमजोर हुनुको फाइदा व्यापारीले उठाउँदै आएका छन्। दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्ता भने मारमा परेका छन्। कर्मचारीको तलब बढ्ने निश्चित भएसँगै सामानमा पनि व्यापारीले बढी मूल्य लिन थालिसकेको विज्ञहरुको भनाइ छ।

 

प्रतिक्रिया