घरवरिपरिका औषधिहरु

विदुर खबर २०७८ जेठ १४ गते २०:२१
डा. अरुणा उप्रेती ।

केही वर्षअघि मलाई छातीमा संक्रमण भएर छाती रोग विज्ञकहाँ गएको थिएँ । विज्ञले छाती जाँचेर औषधि लेख्नुभयो । त्यो औषधि खाएपछि ज्वरो निको भयो तर खोकी लागी नै रह्यो । मेरो ठूली आमाले असुरोको पात पानीमा उमालेर त्यो पानीमा कागती–मह हालेर खाऊ भन्नुभयो । यसरी खाँदा खोकी निको भयो ।

Advertisement

हेर्दा सामान्य देखिने र जताततै पाइने जडीबुटी असुरो श्वास–प्रश्वाससम्बन्धी रोगमा औषधिको रुपमा प्रयोग गर्ने पुरानै चलन रहेछ । यसको पात, जरा र पूmलमा पाइने पदार्थले श्वास–प्रश्वास प्रणालीका समस्यालाई सुधार गर्नुको साथै श्वास मार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्ने कुरा आयुर्वेदमा उल्लेख छ । असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिसाएर खाँदा खोकीको समस्या कम हुने रहेछ ।

त्यसपछि मैले असुरोको बारेमा बुझ्न कोशिश गरेँ। असुरोका फाइदाका बारेमा धेरै जानकारी पाएँ । गाउँघरमा जाँदा त्यहाँका केही मानिसले असुरोको पातको ताजा रस महसँग मिसाएर खाँदा श्वास–प्रश्वाससम्बन्धी समस्यामा फाइदा पुगेको कुरा बताएका थिए । त्यसै गरी सुदूरपश्चिममा जाँदा त्यहाँका गाउँलेले असुरो, बेसार, धनियाँ, पीपल र सुठो हालेर पानीमा घोली खाँदा फाइदा हुने बताए ।

Advertisement

 

हरियो असुरोको पात सबै ठाउँमा नपाइन पनि सक्छ । त्यसैले यसको पात छायामा सुकाई राखेर उपयोग गर्न सकिन्छ । यसलाई पानीमा उमाली ल्वाङ, सुकुमेल, मरिच आदि हालेर खाँदा धेरै फाइदा गर्छ । असुरोलाई संस्कृतमा वासा, वासिका र हिन्दीमा अडूसा वावाकस भनिन्छ भने अंग्रेजीमा मालावर नट भनिन्छ । यसलाई नेवारी भाषामा आलेमा, थारु भाषामा असुर, तामाङ भाषामा वासकस्तानाले चिनिन्छ । यो वनस्पति वन औषधिको नामले पनि चिनिन्छ । असुरो एक झाडीदार वनस्पति हो । यसको पात ३ इन्चदेखि ८ इन्चसम्म लामो हुन्छ ।

Advertisement

असुरोमा सेतो रङ्गको पूmल फुल्छ । यो माघ महिनादेखि चैत्रसम्म फुल्छ । यो औषधिको रुपमा पनि प्रयोग हुन्छ । आयुर्वेदमा असुरोको प्रयोगको बारेमा लेखिएको छ । सुन्निएको ठाउँमा असुरोको पातको लेप लगाउँदा सुन्निएको घटाउँछ र दुखाइ पनि कम गर्छ । असुरोले श्वास–प्रश्वास प्रणालीमा हुने समस्या कम गर्छ ।

अहिले चाहिँ बालबालिका र किशोरकिशोरीहरू अमला खानु बेइज्जत नै सम्झिन्छन् । विभिन्न किसिमका चकलेट मुखभरि हालेरचाहिँ हिँड्छन् ।

घाँटी खसखस हुँदा , चिसो लाग्दा पनि यसले फाइदा हुन्छ । कब्जियत भएकोलाई पनि असुरोको पात पकाएर खाँदा फाइदा गर्छ । असुरोको सुकेको पातलाई किताबका पानाहरुमा राख्दा कीरा लाग्दैन । कृषकहरुले काँचो केरालाई छिटो पकाउन र अन्न भण्डारण गर्न परम्परागतरुपमै असुरोको पातको प्रयोग गर्छन् । यसले जैविक मल र कीटनाशक औषधिको पनि काम गर्दछ । किसानले धानको ब्याडमा यसको पातलाई कुहाएर प्रयोग गर्ने गरेको पनि पाइन्छ । आयुर्वेदअनुसार रुघाखोकी, घाँटीको दुखाइमा समेत असुरोको प्रयोग लाभदायक मानिएको छ । असुरोको पात उमालेर मिश्री, तातो पानीको बाफले धेरै फाइदा पुर्‍याउन सक्छ भन्ने कुरा आयुर्वेदमा उल्लेख छ । एक लिटर पानीमा असुरोका चार–पाँचवटा पात उमालेर बाफ लिँदा श्वास–प्रश्वासमा निकै सहज हुने अनुभवले पुष्टि गरेको छ । तर असुरोको प्रयोग धेरै गर्दा रक्तचाप कम हुनसक्छ । क्याप्सुल खानेहरुले पनि यसबारेमा ध्यान दिनुपर्छ । वनस्पतिहरुको प्रयोग गर्दा विशेष होसियार हुनुपर्छ ।

सानो छँदा अमला खाएर पानी पिउँदा गुलियो हुन्छ भनेर खूब अमला खाइन्थ्यो । ४० वर्षअघि २५ पैसामा पोल्टाभरि अमला आउँथ्यो । सुकेको अमलाको तितौरा साथीहरूसँग बाँडेर खाँदाको स्वाद नै बेग्लै हुन्थ्यो । अहिले चाहिँ बालबालिका र किशोरकिशोरीहरू अमला खानु बेइज्जत नै सम्झिन्छन् । विभिन्न किसिमका चकलेट मुखभरि हालेरचाहिँ हिँड्छन् । त्यसले दाँतलगायत सम्पूर्ण स्वास्थ्य बिग्रेको पत्तै पाउँदैनन् ।

स्वास्थ्यकर्मीहरूले पनि बालबालिका, गर्भवती र भर्खर बिरामीबाट तङ्ग्रिन लागेकाहरूलाई भिटामिन ‘सी’ खानुपर्छ भन्दै औषधि लेखिदिन्छन् तर कसैले पनि अमला खाने सल्लाह दिँदैनन् । आयुर्वेदमा अमलालाई एक बहुउपयोगी फलको रुपमा उल्लेख गरिएको छ । यसको प्रयोग औषधि तथा खाद्यवस्तुको रूपमा गरिन्छ । धार्मिक दृष्टिकोणले यो पवित्र फल मानिन्छ । भगवान् विष्णुको मन पर्ने फलमा अमला पर्ने हुनाले विष्णुको पूजामा नैवेद्यको रूपमा पनि हिन्दूहरूले चढाउने गर्छन् ।

कब्जियत रोक्नका लागि प्रयोग गरिने त्रिफलामा अमला पनि रहेको हुन्छ तर त्रिफलाको महत्व धेरैले बुझ्दैनन् । कब्जियत हटाउन प्रायः महँगा औषधिहरूको प्रयोग गर्ने हाम्रो चलन छ । सानो छँदा चरी अमिलोको अमिल चरी पातलाई खेल्ने क्रममा भाँडाकुटीमा राखिन्थ्यो र कहिले दाल, कहिले तरकारी सम्झेर खाइन्थ्यो । त्यस बेला मुखमा अमिलो रस दिने अमिल चरी एउटा औषधि हो, भिटामिन ‘सी’युक्त हो भनेर कहाँ पो थाहा थियो र ? अहिलेका कतिपय बालबालिकालाई अमिल चरीको नाम पनि थाहा छैन होला । तर शरीरबाट भिटामिन नष्ट गर्ने अनेक थरीका चकलेट र चिसो पेयपदार्थहरूको नामचाहिँ कण्ठ हुन्छ । अमिल चरीलाई पुदिनाजस्तै पिसेर गोलभेँडाको अचार बनाउन सकिन्छ ।

अमिल चरी भिटामिन ‘सी’का कारण अमिलो हुन्छ । भिटामिन ‘सी’ले शरीरमा रोगसँग लड्ने शक्ति दिन्छ । तर कुनै पनि स्वास्थ्यकर्मीले ‘तपाईंलाई भिटामिन ‘सी’को कमी भए चरी अमिलो खानुस् भनी सल्लाह दिँदैनन् । विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरी अमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरी अमिलोलाई सलादमा हालेर पनि खान्छन् । चरी अमिलोमा वाकवाक लाग्न कम गर्ने गुण पाइन्छ । गिजाबाट रगत आउने, घाउ–खटिरा भएर पाक्ने, दुख्ने र सुनिने भएमा चरी अमिलोको बोट सफा गरी चपाएर कुल्ला गर्नाले निको हुने बूढापाकाहरू बताउँछन् । यसलाई गाईवस्तुको लागि घाँसको रूपमा अन्य घाँससँग मिसाएर खुवाउने गरिन्छ, जसले गर्दा दूधको उत्पादन धेरै हुन्छ । चरी अमिलो सफा गरी चटनी वा अचार बनाई खाएमा दिसा सफा हन्छ । भिटामिन ‘सी’ शरीरले आफैं उत्पादन गर्न सक्दैन र हरेक दिन रोगसँग लड्नका लागि नयाँ कोषहरू बनाउन भिटामिन ‘सी’ आवश्यक पर्छ ।

फलामको भाँडामा कालो दाल/तरकारी पकाएर त्यसमा अमलाको धूलो हाली खाँदा अमलामा रहेको भिटामिन ‘सी’ले खानेकुरामा रहेको लौहतत्वलाई सोसेर रक्तअल्पता हुन दिँदैन । आफ्नो आँगनमा रहेको अमलाजस्ता औषधिलाई चिनेर प्रयोग गर्न सके कति राम्रो हुने थियो । प्रकृतिले हामीलाई समस्यासँगसँगै समाधान पनि दिएको छ । रोग र उपचार दुवै कुरा हाम्रा वरिपरि नै छन् । यस्ता औषधिको प्रयोग गर्नुको अर्थ आधुनिक ज्ञान र विज्ञानलाई बेवास्ता गर्नु होइन । आधुनिक ज्ञान र विज्ञानले पनि यी वनस्पतिको महत्व मानेको छ । स्वास्थ्य राम्रो राख्न परम्परगत र आधुनिक दुवै ज्ञानलाई प्रयोग गर्न सकिन्छ ।

– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)

प्रतिक्रिया