नुवाकोटमा आजदेखि निषेधाज्ञा, बजार क्षेत्र सुनशान

विदुर खबर २०७८ वैशाख २१ गते ७:१५

नुवाकोट । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज विहान ४ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

Advertisement

कोरोना संक्रमणको जोखिम रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्लामा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको अधिकार प्रयोग गरि केन्द्रको बैठकले वैशाख २१ गते बिहान ४ बजेदेखि वैशाख २७ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको छ ।

Advertisement

निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह समेत गरिएको छ । जिल्लाबाहिरबाट प्रवेश गरेकाहरु अनिवार्य स्थानीय तहले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ ।

साथै विवाह, ब्रतबन्धको लागि बढीमा १५ जना हुने गरी स्वास्थ्य मापदण्ड पालना गरि प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ ।

Advertisement

नुवाकोटमा अहिलेसम्म एक हजार ३ सय ९६ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

सक्रमितमध्ये २ सय ४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कोरोना भाइरसको संक्रमणको कारण नुवाकोटमा दुई जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया