माथिल्लो त्रिशूली थ्री बीको ४६ प्रतिशत काम सम्पन्न

विदुर खबर २०७७ माघ १० गते १०:४३

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा निष्काशन भएको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी को बाँकी रकम कहिले उठाउला भन्ने प्रश्न लगानीकर्ताहरुले गर्न थालेका छन्।

Advertisement

पछिल्लो समय शेयर बजारको गतिसँगै हाईड्रोपावर कम्पनीको शेयरमा लगानीको आकर्षण बढेपछि लगानीकर्ताहरु उक्त कम्पनीको दोस्रो किस्ता सम्बन्धमा चासो राख्न थालेका छन्। योसँगै शेयर बजारमा यो चर्चाको विषय बन्न थालेको छ। “नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युतको शेयरधनी” भन्ने कार्यक्रम अन्तर्गको पहिलो कम्पनी माथिल्लो त्रिशूली थ्री बी को बाँकी रकम कहिले उठाउछ? भन्ने बारेमा खोजी हुन थालेको हो। कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म ३७ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गरेको थियो। त्यतिबेला कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले अावेदन खुलाएकाे थियाे।

उक्त कम्पनीको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि दोस्रो किस्ता ‘कल’ गर्ने बताईएको थियो । पहिलो ‘कल’ गरेको करिब तीन वर्ष भईसक्दा पनि कम्पनीको दोस्रो ‘कल’ सम्बन्धी कुनै तयारी नभएको भन्दै लगानीकर्ताहरुले गुनासो गर्न थालेका छन्।उक्त कम्पनीमा प्रधानमन्त्री र तत्कालिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समेत उक्त कम्पनीको शेयरमा आवेदन दिएका थिए। जसमध्येमा उनीहरु लगायत अन्य लगानीकर्ताहरुले त्यसको १० प्रतिशतको दरले शेयर धारण गरेका छन्। सरकारको यो कार्यक्रम अन्तर्गत शेयरका लागि प्रतिकित्ता १० रुपैयाँका दरले शेयर आवेदन दिईएको छ। प्रतिकित्ता एकसय रुपैयाँ पर्नेमा पहिलो चरणमा सर्वसाधारणले उत्साहपूर्वक शेयरको १० प्रतिशत रकम तिरेर कम्पनीको शेयरधनी बनेका छन्।

Advertisement

आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि सम्बन्धित निकायहरुको स्वीकृतीमा बाँकी ९० प्रतिशत रकम बक्यौता उठाउन सक्ने कम्पनीका व्यवस्थापकीय निर्देशक मोहन गौतमले जानकारी गराए।

हाल उक्त आयोजनाको ४६ प्रतिशत काम सम्पन्न भईसकेको उनी बताउँछन्। यसै चालु आर्थिक वर्ष भित्रमा दोस्रो ‘कल’ गरी रकम संकलन गर्ने आफूहरुको योजना रहेको गौतमले बताए।

Advertisement

आयोजना निर्माण प्रकृयामा कोरोनाको प्रत्यक्ष प्रभाव परेका कारण निर्माणको काम आफूहरुले सोचे अनुसार नभएको गौतमको भनाई छ।

चीनियाँ कन्स्ट्रक्टरहरु कोरोनाको समयमा चीन फिर्ता भएको र उनीहरु कोरोनाको भ्याक्सिन लगाएर आउन ढिला भएका कारण आयोजनाको काम समयमा सम्पन्न गर्न मुस्किल परेको गौतमले बताए।

सरकारले जनतालाई हाईड्रोमा लगानी गर्न आग्रह गर्दै गर्दा देखिएको उत्साहलाई निरन्तरता दिन नसकेको भने बुझ्न सकिन्छ। देशभर छरिएर रहेको रकमलाई कम्पनी खडा गरेर उनीहरुको पैसाको सहि सदुपयोग गर्दै देशलाई आर्थिक समून्नती र नागरिकहरुलाई उक्त लगानीको प्रतिफल प्राप्त गराउन सक्ने अवसरबाट सरकार बञ्चित भएको देख्न सकिन्छ।

सरकारले आयोजना सम्बन्धमा यथेष्ठ जानकारी प्रवाह गर्न नसक्नु, आयोजना निर्माणका सम्बन्धमा ठोस प्रतिबद्धता गर्न नसक्नुले उक्त कम्पनीमा आफूले गरेको लगानीको प्रतिफल पाउनेमा भने लगानीकर्ताहरु आशावादी हुन सकिरहेका छैनन्।

आयोजनाको शतप्रतिशत शेयर वितरण गरेपछि मात्र दोस्रो बजारमा कारोबार गर्न सकिने भएको कारणले गर्दा अझै लामो समयसम्म शेयर कारोबार गर्न नपाउने देखिन्छ। पहिलो ‘कल’ गर्दा सरकारले ९ महिनादेखि एक वर्ष भित्रमा आयोजनाको ५० प्रतिशत रकम उठाउने प्रतिबद्धता लिएको थियो। यद्यपि पहिलो ‘कल’ गरेको करिब दुई वर्ष बितिसक्दा समेत आयोजनाको काम ४६ प्रतिशतमा सीमित हुनुले आयोजनामा लगानी गर्ने लगानीकर्तालाई निराश बनाएको छ।

जनताको लगानी अन्तर्गतका अन्य आयोजनाको प्रगति कस्तो छ?

जलविद्युतमा जनताको लगानी कार्यक्रम अन्तर्गत निष्काशन गर्ने अरु जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययनकै क्रममा रहेको उर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालयले जानकारी दिएको छ। उक्त आयोजनाहरुको अध्ययन सम्बन्धी काम सकेर पिपिए गरेपछि सर्वसाधारणलाई शेयर निष्काशनको तयारी गर्ने मन्त्रालयले जनाएको छ।

विद्युत बिक्री सम्बन्धी सम्झौता नभई सर्वसाधारणलाई शेयर बिक्री गर्दा उनीहरुको लगानी बन्धक हुने भएकाले शेयर निष्काशनको प्रकृया अगाडि नबढाएको मन्त्रालयको भनाई छ।

सरकारको अग्रसरतामा सबै नेपालीलाई शेयर बजारमा आबद्ध बनाउन खोजिएको यस कदमलाई उक्त समयमा सकारात्मक रुपमा लिएको भएतापनि अहिले सरकार आफै निष्कृय जस्तै देखिनुले सरकारको विश्वास गरेर बजारमा लगानी गर्न सोच बनाएका लगानीकर्ताहरुको विश्वासमा केहि चिसो परेको छ। आफ्नै अग्रसरतामा चालिएको उक्त कदमलाई द्रुत रुप दिन नसक्नुले सरकारको लगानी सम्बन्धी योजना असफल भएको स्पष्ट देखिन्छ।

प्रतिक्रिया