उपत्यकाका विद्यालय अझै खुल्दैनन्

विदुर खबर २०७७ मंसिर ८ गते ८:२९
कोरोना भाइरसको हटस्पष्ट बनेको राजधानी उपत्यकामा तत्काल विद्यालय खोल्ने सक्ने अवस्था नरहेको उपत्यका मेयर फोरमले निष्कर्ष निकालेको छ ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेको अवस्थामा विद्यालय खोल्न सक्ने सम्भावना कम रहेको बताउनुभएको छ । चिसो मौसममा कोरोना संक्रमितको संख्या बढ्न सक्ने आकलन गर्दै यो विषयमा तत्काल निर्णय लिनसक्ने अवस्था नभएको मेयर फोरमले निष्कर्ष निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको अवस्थाको विश्लेषण गरी विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएपछि फोरमले उक्त निष्कर्ष निकालेको हो । मन्त्रालयले करिब डेढ साताअघि कार्यढाँचा सार्वजनिक गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेको थियो ।

Advertisement

तत्काल विद्यालय खोल्ने वा नखोल्ने विषयमा महानगरले निर्णय गर्ने मेयर शाक्यले बताउनुभयो । उपत्यकाका तीन जिल्लाका विद्यार्थी तीनवटै जिल्लामा रहेका विभिन्न विद्यालयमा पढ्न जाने भएका कारण सबैको एउटै धारणा हुनुपर्ने मेयर शाक्यले बताउनुभयो । ‘पहिला उपत्यकाको अवस्थाबारे अध्ययन गर्छौं, त्यसपछि निर्णय गर्ने छांै।’ –उहाँको भनाइ थियो । मेयर शाक्यका अनुसार विद्यालय खुला गर्नुअघि कार्यविधि अध्ययन गरी विष्लेषण गर्ने र त्यसपछि सामूहिक निर्णय गर्ने तयारी गरेको छ । झन्डै एक लाख हाराहारीमा संक्रमित रहेको उपत्यकामा विद्यालय खोल्नुअघि करिब ३ हजार आइसोलेसन वेड तयार गर्ने, स्वाथ्य मापदण्डको विषयमा अध्ययन गर्ने, विद्यालयहरुको भौतिक अवस्थाबारे जानकारी लिनेलगायत विषयमा विस्तृत अध्ययनपछि मात्रै विद्यालय खोल्ने वा नखोल्ने विषयमा निर्णय गर्ने महानगरले तयारी गरेको छ ।

छोराछोरीलाई विद्यालय पठाउने विषयमा अभिभावकको मुख्य भूमिका रहने भएकाले अभिभावकसँग पनि परामर्श लिनुपर्ने फोरमले जनाएको छ । ‘अहिले त टोलैपिच्छे, संक्रमित देखिन थालेका छन्, देशैभरका विभिन्न तहका व्यक्ति बस्ने राजधानीका विद्यालयको अवस्थाबारे अध्ययन नगरी हचुवाको भरमा विद्यालय खोल्ने पक्षमा मेयर फोरम नरहेको शाक्यले बताउनुभयो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन अहिले नै विद्यालय खोल्न हतार नभएको तर्क गर्दै सो विषयमा गम्भीर बहस आवश्यक रहेको बताउनुभयो । ‘हामी आज सोमबार बैठक बसेर केही निर्णय गर्नेछौं, विकल्पबारे सोच्नेछौं।’ –उहाँले भन्नुभयो ।

Advertisement

मेयर महर्जनले विद्यालय खोल्ने विषयमा मेयर फोरमले एउटै धारणा तय गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘काठमाडौं र ललितपुर एउटै जिल्ला जस्तो छ, काठमाडौंका विद्यार्थी ललितपुर र ललितपुरका विद्यार्थी काठमाडौंमा पढ्न जाने भएकाले सामूहिक निर्णय आवश्यक छ ।’हाल काठमाडौं उपत्यकामा झन्डै २ हजार ५ सयको हाराहारीमा निजी तथा सरकारी विद्यालय रहेका छन् । सबै विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेपछि कसरी खोल्न सकिन्छ भन्ने विषयमा स्थानीय निकाय आन्तरिक छलफलमा जुटेको छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले मन्त्रालयले जारी गरेको कार्यढाँचा काजगी घोडाजस्तो भएको तर्क गर्दै अभिभावकको सहभागिताविना तयार भएको सो सामग्रीको औचित्य नभएको आरोप लगाउनुभयो । उहाँले कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले यही अवस्थामा विद्यालय खुल्न नसक्ने बताउनुभयो ।

Advertisement

मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनुकूलताको आधारमा विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको जानकारी दिनुभयोे । उहाँले भन्नुभयो– ‘विद्यालय खोल्नुअघि आन्तरिक कार्ययोजना तयार पारी अवस्था विश्लेषण गर्नु आवश्यक छ ।’

यसअघि कोभिड संक्रमण कम भएका स्थानीय तहले विद्यालय खोल्दा प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा बन्द हुने गरेको थियो । कार्यढाँचा पारित भएपछि अब विद्यालय सञ्चालन गर्न बाधा पर्नेछैन । करिब एक महिनाअघि हुम्लाका स्थानीय तहले विद्यालय खोलेको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि पाँच दिनअघिदेखि सबै विद्यालय बन्द गरिएको छ ।

उपत्यका मेयर फोरमले करिब तीन साता लामो कडा लकडाउन गर्न सरकारलाई सिफारिस गरेको अवस्थामा विद्यालय खोल्ने सम्भावना झिनो देखिएको छ ।अभिभावको सम्पत्ति भनेकै छोराछोरी हुन्, यस्तो अवस्थामा छोराछोरीलाई कसरी विद्यालय पठाउने भन्ने विषयमा सबैले सोच्नुपर्ने अवस्था आएको मेयर फोरमका अध्यक्ष शाक्यले बताउनुभयो ।

उता प्याब्सनका सल्लाहकार समितिको केही दिनअघि बसेको भुर्चुअल बैठकले अहिलेको अवस्थामा विद्यालय खोल्ने विषय व्यावहारिक नहुने बताएका थिए । उनीहरुले अब विद्यालय खोल्ने विषयमा निर्णय गर्दा सबै सरोकारवालाबीचको सहमति आवश्यक रहेको उनीहरुको धारणा छ ।

प्रतिक्रिया