तिहार नजिकिएसँगै कुमाले समुदायलाई पाला बनाउन भ्याई नभ्याई

विदुर खबर २०७७ कार्तिक २४ गते २०:५१

नुवाकोट । तिहार नजिकिए पछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दिपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याई नभ्याई भएको छ । तर यसवर्ष कोभिड संक्रमणका कारण माटाका भाँडाको व्यापारमा असर परेको छ ।

Advertisement

माग अनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सुर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो, लगायतका क्षेत्रका प्रजापतिहरुलाई भ्याई नभ्याई भएको हो ।

भक्तपुर र थिमिमा उत्पादन भएको पाला भक्तपुर, काठमाण्डौ, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रे, जिरी, दोलखा लगायतका विभिन्न जिल्लामा खपत हुने गरेको छ । व्यापारीले तिहार अघि नै आएर अर्डर दिएर गएका पाला बनाउने र आफूले खुद्रा बिक्री गर्न पनि पाला बनाउने गरेका छन् । तिहार नजिकिदै गएको र अर्डर अनुसारको पाला, धूपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याई नभ्याई भएको भक्तपुर नगरपालिका १२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताउनुभयो ।

Advertisement

अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ। तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताउनुभयो ।उहाँले गत वर्ष दैनिक तीन÷चार हजारको संख्यामा बिक्री हुने गरेकोमा अहिले आधा भन्दा कम मात्रै बिक्री हुने गरेको बताउनुभयो ।

माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताउनुभयो। माटो नपाएकै कारण अबको आठ÷दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना देखिएको उहाँको भनाइ छ।प्रजापति समुदायले अंगाल्दै आएको यो पेशा निकै पुरानो हो।आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउनेदेखि पकाउने सबै काममा प्रविधि भित्रिँदा सजिलो भएको छ। तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप हुने चिन्ता भने कुमालेमा उत्तिकै छ।

Advertisement

माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरा लगायतको माग बढ्ने र अरु बेलामा माटोको भाडाको माग कम हुने भएपछि यो पेशाबाट बिस्थापित हुन थालेपछि माटोको भाडाको उत्पादन समेत कम भएको छ । पाला बनाउने प्रजापतिको संख्या घटेपछि पेशा अंगाल्दै आएकाहरुलाई भने पाला बनाउन भ्याई नभ्याई भएको हो ।

तिहारका लागि माटोको पाला बनाएर बिक्री गर्दै आएका स्थानीय सुजन प्रजापतिले बिगतमा भूकम्पले पनि यो पेशालाई विस्थापति गरेको बताउनुभयो । बुद्धिराम प्रजापतिले यो पेशाबाट वर्षभरी गुजारा चलाउन नसक्ने र माटो पनि नजिक नपाईएपछि टाढाबाट किनेर ल्याउनु परेकाले यो व्यबसाय नै संकटमा परेको बताउनुभयो ।

कोरोना संक्रमण,माटोको अभाव र प्लाष्टिकका भाँडाको बढ्दो प्रयोगका कारण यो पेशा संकटमा परेको कुमालेहरुले गुनासो गरेका छन् । परम्परागत रुपमा काठ तथा गाडिको टायरबाट बनेको गोलो चक्र्रबाट माटोको भाँडा बनाउँदै आएका जिल्लाका कुमालेहरुलाइ आधुनिक बिद्युतीय मेशिनले काममा छिटो र सजिलो भने पारिदिएको छ ।

आधुनिक मेशिन भित्रिएपछि हातले चक्र घुमाइ रहनु नपर्ने, भाडा बनाउन सजिलो र छिटो भएर ढुक्क भएका कुमालेहरु कोरोनाका कारण भने दिक्क भएका छन् । पहिला नजिकै पाईने माटो लिन अहिले सिपाडोल देखि हरिसिद्धि हुदै थानकोट सम्म पुग्नु पर्छ, सित्तै पाईने माटो अहिले महँगोमा किन्नुपरेको उनीहरुको गुनासो छ ।

भक्तपुर र थिमीमा झण्डै तीनसय भन्दा बढी घरपरिवार कुमाले माटोको भाडा बनाएदै आएकोमा अहिले विस्थापित हुदै करिब १५० घरपरिवारमा सिमित भएका छन् । युवा पुस्तामा यसतर्फको आकर्षण घट्दै जानु र पुराना पुस्ताले मात्र यो पेशा धान्नुपर्ने अवस्थाले थप समस्या पारेको छ ।

उचित बजार ब्यबस्थापन ,प्रचारप्रसार , तालिम र राहत नपाएकाले युवावर्ग चाहेर पनि यस पेशा तर्फ आकर्षित हुन नसकेको ब्यवसायी बताउँछन् ।परम्परागत पेशालाई जोगाउन सरकारले राहतको ब्यबस्था गर्नुपर्ने उनीहरुको माग छ । विश्व मै चर्चामा रहेको र नेपाल आउने पर्यटकको आकर्षणको केन्द्र रहेको कुमालेको माटोको भाडा बनाउने पेशालाई जोगाइ राख्न सरकारले कुमालेका लागि राहतको व्यबस्था गर्नुपर्ने तथा युवा पुस्तामा प्रोत्साहनका कार्यक्रम ल्याउनु जरुरी देखिन्छ ।

दिपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भएपनि विगतका केही वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम पनि बढेको छ ।सुरक्षाको दृष्टिकोणले समेत पाला उत्तम मानिने गरिन्छ । मुलुकलाई आत्मनिर्भर बनाउने मुद्धा व्यापक रुममा चलीरहँदा नेपाल भित्र नेपाली कच्चा पदार्थबाट उत्पादन हुने यस्ता मौलिक उद्योगलाई संरक्षण गर्न राज्यले पहल गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया