नुवाकोटमा जाडो बढ्यो, देशभर न्यूनतम तापक्रम घट्दै

विदुर खबर २०७७ कार्तिक २२ गते ८:१५

नुवाकोट । देशभर  न्यूनतम तापक्रम घट्दै गएको छ । तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ ।

Advertisement

नुवाकोटसहित देशभर नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ ।

अरु ठाउँको न्यूनतम तापक्रम पनि बिस्तारै घट्दै गएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । हिजो जिरीको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, जोमसोमको ३ डिग्री सेल्सियस, ताप्लेजुङको ११,  दिपायलको ९ दशमलव ८ डिग्री सेल्सियस र डडेल्धुराको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो ।

Advertisement

तापक्रम अझै घट्दै जाने मौसमविद् मानन्धरले बताउनुभयो । आज पनि देशभर खुलेर घाम लाग्ने सम्भावना छैन । पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया