एसईईको रिजल्ट नआउँदै कक्षा ११ को भर्ना,पैसा असुल्ने दाउ

विदुर खबर २०७७ असार २५ गते १२:४९

नुवाकोट । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित हुने अनिश्चित भइरहेका बेला राजधानीलगायत देशका केही माध्यमिक विद्यालयलले प्रि–अनलाइन रजिस्ट्रेसनको नाममा कक्षा ११ को भर्ना प्रक्रिया शुरू गरेका छन् ।

Advertisement

राजधानीका कहलिएका जिरो प्लस टु र केही माविले आफ्नो वेबसाइटमा अनलाइन प्रि–रजिस्ट्रेसन शुरू गरिसकेका छन् । परीक्षाफल प्रकाशित नहुँदै भर्ना प्रक्रिया शुरू गर्न मिल्छ त ? भन्ने प्रश्नमा अधिकांश विद्यालय सञ्चालकले भने कति विद्यार्थीले फारम भर्छन् भन्ने विषयको मूल्याङ्कन मात्र भएको दाबी गरेका छन् । राजधानीका अधिकांश नाम चलेका माविले अनलाइन भर्ना आह्वान गरेका छन् । परीक्षाफल प्रकाशित नभई भर्ना लिन नहुने सरकारी मान्यतालाई बिर्संदै मनपरीरूपमा भर्ना थालेका छन् ।पछिल्लो समय तीन महिनाको विभिन्न शुल्कसहित १ लाख रुपियाँभन्दा बढी शुल्क बुझाउन अभिभावकलाई दवाब दिने ललितपुर खुमलटारको प्रिमियर स्कुलले कक्षा ११ का लागि प्रि–रजिस्ट्रेसन खुला गरेको छ । प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलको नाममा वेबसाइटमा फारम र फेसबुकमा विज्ञापन गरेको छ ।

विशेष गरी राजधानीका ठूला भनिएका र राजनीतिक पहँुच बोकेका विद्यालयले प्रि–अनलाइन रजिस्ट्रेसन खुला गरेका छन् । बत्तीसपुतलीको गोल्डेनगेट, बागबजारको केएमसी, कोटेश्वरको सीसीआरसी, कमलादीको युनिग्लोबलगायतका विद्यालयले अनलाइन रजिस्ट्रेसन खुला गरेका छन् । सीसीआरसीले ई–सर्भिसबाट १ सय २५ रुपियाँ तिरेर फारम लिनसमेत सूचना जारी गरेको छ । उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्थामा दूरदराज र घरमा बसेर तनाव झेलिरहेका विद्यार्थी अनलाइन रजिस्ट्रेसन गर्नुपर्ने व्यवस्थाले गर्दा थप तनाव पुगेको छ ।

Advertisement

कोभिड–१९ को संक्रमण देखिनासाथ सरकारले माग गरेको अवस्थामा ५ हजार कक्षाकोठामा क्वारेन्टाइन बनाउन दिने वचन दिएको हिसानले हालसम्म एउटा कोठा पनि दिन सकेको छैन । सरकारलाई कक्षाकोठा दिएर सहयोग गर्न नसक्ने र कक्षा १२ को कक्षा शुरू गर्न नसक्ने विद्यालयले विद्यार्थी संकलन गरेर आर्थिक अवस्था धराशयी भएका अभिभावकसँग दाम कमाउन भर्ना प्रक्रिया शुरू गरेका छन् । भर्ना प्रक्रिया शुरू गरेपछि राजधानीका दुई महानगपालिका शिक्षा शाखाले तत्काल अनलाइन रजिस्टे«सन रोक्न आग्रह गर्ने भएका छन् । काठमाडौं महानगरपालका शिक्षा शाखा प्रमुख मोती खनालले मनपरीरूपमा अनलाइन रजिस्ट्रेसन खुला गरेर भर्ना प्रक्रिया शुरू गर्ने विद्यालयमाथि कारबाही गर्ने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डमा दर्ता भएको आधारमा सञ्चालित भएका जिरो प्लस टु र १–१२ तह सञ्चालन गरिरहेका विद्यालयले मनपरी अनलाइन रजिस्ट्रेसनका बारेमा कामपाले गम्भीर छलफल गर्ने विभागले जनाएको छ । परीक्षाफल प्रकाशित नहँुदै अनलाइन रजिस्ट्रेन खुला गरेको विषयमा राष्ट्रिय परीक्षा बोर्डले कामपा शिक्षा विभागलाई जानकारी गराएको थियो । नयाँ शिक्षा ऐन नआएको अवस्थामा यस्ता विद्यालयलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा निर्णय गर्न समस्या भएको खनालको भनाइ छ । उहाँले कसैले उजुुरी दिए लिखित स्पष्टीकरण सोधेर कारबाही गर्ने बताउनुभयो ।

Advertisement

ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र क्षत्रीले अनलाइन रजिस्ट्रेसन खुला गरेको विषयमा महानगरमा उजुरी आएको बताउँदै यस विषयमा छानबिन भइरहेको बताउनुभयो । उहाँले केही विद्यालयलाई अनलाइन रजिस्ट्रेसन खुला नगर्न निर्देशन दिइसकेको बताउनुभयो । अहिले हाम्रो काम त लकडाउनको समयमा विद्यालयले शुल्क माग गरेको र ठूला माविले कक्षा ११ को अनलाइन रजिस्ट्रेसन खुला गरेको उजुरी आउने गरेको बताउनुभयो ।

सरकारले विसं २०७६ सालको एसईई परीक्षा खारेज गरी विद्यालयलाई नै अन्तिम मूल्याङ्कन गरी शिक्षा समन्वय इकाइमा पठाउने र इकाइले विद्यार्थीको प्राप्ताङ्क प्रमाणित गरी बोर्डमा पठाउने तथा बोर्डले अक्षराङ्क प्रणालीमा परीक्षाफल प्रकाशित गर्ने व्यवस्था गरेको छ । बोर्डले साउनको दोस्रो साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहँदा राजधानीका केही विद्यालयले अनलाइन रजिस्ट्रेसन गरी भित्रभित्रै भर्ना प्रक्रिया थालेका छन् । १–१२ सञ्चालन भएका केही विद्यालयले त आफ्नै विद्यालयका १२ कक्षासम्म पढ्नैपर्ने गरी उर्दी जारी गरेको छ । केही जिरो प्लस टुले अनलाइन रजिस्ट्रेसन गरी परीक्षाफल प्रकाशित हुनुअघि नै भर्ना गरिसक्ने योजना बनाएका छन् ।

बोर्डको परीक्षाफलको प्रतीक्षामा रहेका केही विद्यालयले अनलाइन वा अन्य कुनै माध्यमबाट प्राप्ताङ्क अनाएसम्म भर्ना प्रक्रिया शुरू नगर्ने अडानमा छन् । हिसानका अध्यक्ष रहनुभएका रमेश सिलवालले भने आफूले कुनै गल्ती नगरेको र अनलाइन रजिस्ट्रेसनको सूचना नहटाउने जिकिर गर्नुभएको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

प्रतिक्रिया