नुवाकोटका बैंकमा किन बढ्यो ग्राहकको भिड

विदुर खबर २०७७ जेठ २४ गते १०:२५
विदुरमा रहेको नेपाल बैंकमा सेवाग्राहीहरुको केहीदन अघि लागेको भिड ।

                                       विदुरमा रहेको नेपाल बैंकमा सेवाग्राहीहरुको केहीदन अघि लागेको भिड ।

नुवाकोट । केहीदिन यता नुवाकोटमा रहेको बैंक तथा वित्तिय संस्थाहरुमा एकाएक ग्राहकहरु भिड लाग्न थालेको छ ।

Advertisement

लकडाउन लम्बिँदै जाँदा सेवाग्राहीहरु उकुसमुकुस भएर बाहिर निस्कन थालेपछि बैंकमा पनि भिडभाड बढेको हो । बैंकहरुले सबै शाखा कार्यालयहरु खोल्न पाएका छैनन् । खुलेका शाखामा पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएका कारणले पनि भिड बढेको बैंक सञ्चालकहरु बताउँछन् । सरकारले बैंकका कर्मचारीहरुलाई सवारी पास कम दिएको र बैंकको परिचयपत्रका आधारमा प्रहरीले हिँडडुल गर्न नदिएका कारण कर्मचारीहरु थोरै परिचालन गर्नुपरेको र भीड बढेको गुनासो बैंकर्सहरुको छ ।

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष अनिल केसरी शाहले सवारी पासमा कडाइ हुँदा बैंकमा भिड देखिएको बताए । बैंकका कर्मचारीहरुलाई आफ्नो परिचय पत्र देखाएर कार्यालय जान–आउन सुविधा दिने हो भने बैंकमा देखिएको भिड कम हुने शाहले बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका शाहले सुरक्षा, स्वास्थ्यजस्तै बैंकहरुलाई पनि सरकारले अति आवश्यक क्षेत्रमा राखेको भन्दै यसलाई सीमित पास दिएर सेवा दे भन्नु गलत भएको बताए । उनले बैंकका कर्मचारीहरुलाई परिचय पत्र देखाएर आवत–जावत गर्न दिनुपर्ने बताए ।

Advertisement

‘भिड बढ्दो छ, हामीलाई आफ्नोभन्दा पनि हाम्रा ग्राहकको चिन्ता छ, बाहिर कुपन दिन्छौं बाहिरै भिड लाग्छ,’ उनले भने, ‘हामीले सबै कर्मचारी राखेर सेवा दिन पाउने हो भने यस्तो भिड हुँदैन, कोरोनाबाट जोगाउन र जोगिनका लागि पनि यस विषयमा हामी गम्भीर हुनैपर्छ ।’ सीईओ शाहका अनुसार लकडाउनकै अवधिमा पनि नबिल बैंकको एउटै शाखामा दैनिक ५ सय वटासम्म कारोबार हुने गरेका छन् ।

                                                                                    फाईल फोटो ।

बैंकर्स संघका कार्यकारी सदस्य तथा सनराइज बैंकका सीईओ जनकराज पौड्याल पनि बैंकहरुमा पछिल्लो समय भिड बढेको बताउँछन् । यद्यपि, आत्तिहाल्नुपर्ने गरी भिड भने नरहेको उनले बताए । सीईओ पौड्याल पनि सबै शाखा कार्यालयहरु नखुलेका र पूर्णरुपमा सेवा दिन नपाएका कारण बैंकहरुमा भिड लाग्ने गरेको उनले बताए । सबै शाखा कार्यालयहरु खुला हुने र सबै कर्मचारीहरु राखेर सेवा दिने हो भने भिड कम हुने उनी बताउँछन् ।

Advertisement

प्रतिक्रिया