नुवाकोटको कोल्पुटारमा ‘डिसइन्फेक्सन टनेल’ सञ्चालन

विदुर खबर २०७७ जेठ २० गते २१:४१

कोल्पुटार ।  नुवाकोट भित्रिने मुख्य नाका कोल्पुटारमा ‘डिसइन्फेक्सन टनेल’ बनाइएको छ।

जिल्ला भित्रिने सवारी साधनहरुलाई सिँगै सेनिटाइज गरेर कोरोना संक्रमणको जोखिम कम गर्न मुख्य नाकामा डिसइन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको हो । सवारी साधनलाई डिसइन्फेक्सन गर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको नुवाकोट चेम्बर अफ कमर्शका अध्यक्ष कविन्द्रमान प्रधानले बताए । कोल्पुटारमा करिब चार लाखको लागतमा बनेको टनेलमा नुवाकोट चेम्बर, सुन्दर यातायात, विदुर नगरपालिका र बेल्कोकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा टनेल बनाइएको बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित लगायतले जिल्लामा कोरोना भित्रन नदिन सरकारद्वार जारी लकडाउनको पूर्ण रुपमा पालना गरि आम नागरिकले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताए । जिल्लाबाहिरबाट आएका मालबाहक सवारीबाट संक्रमणको जोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउन टनेल निर्माण गरिएको हो।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले सवारीमा भएको किटाणु निष्क्रिय पार्न टनेलले सहयोग पुर्‍याउने बताए। उनले आवश्यकता अनुसार मर्मत र किटनाशक औषधी उपलब्ध गराईने बताए। संचालनमा आएको केहि दिनमै विश्व स्वास्थ्य संगठनको टोलीले पनि निगरानी गर्ने जानकारी दिए। उनले एक लिटर किटनाशक पानीले एक गाडीलाई पुग्ने जानकारी दिए ।टनेलको सुरक्षा र सञ्चालन कोल्पुटार प्रहरी चेकपोस्टले गर्नेछ । टनेलबाट जिल्ला भित्रिने सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ।

टनेलबाट जिल्ला भित्रिने मोटरसाइकल बाहेकका सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै जिल्ला प्रवेश दिइने छ ।

प्रतिक्रिया