कञ्चनपुर हिँडेका मजदुर नुवाकोटमा रोकिए

विदुर खबर २०७७ वैशाख २५ गते १५:१९

नुवाकोट । नुवाकोटबाट कञ्चनपुर हिँडेका १८ मजदुरलाई प्रहरीले रोकेको छ ।

Advertisement

त्रिशूली–३ बी हबको सबस्टेसनमा फलामेडन्डीको काममा खटिएका उनीहरूलाई सदरमुकाम विदुरमा रोकिएको हो । कञ्चनपुरको लालझाडी गाउँपालिकाका उनीहरू नुवाकोटको पैरेबेंसीमा तीन महिनाअघि आएका थिए । ‘ठेकेदारले काममा लगाउन छाडेपछि वैशाख १५ देखि कामविहीन भयौं, कमाएको पैसा रासनपानीमा खर्च भयो,’ राकेश रानाले भने, ‘पैसा सकिन लागेकाले हिँडेरै घर जाने खोज्दा पनि पाइएन ।’

बाटोका लागि चिउरा, चाउचाउ बोकेर उनीहरू किस्पाङ गाउँपालिका–५ पैरेबेंसीबाट बुधबार बिहानै हिँडेका थिए । सदरमुकाम विदुरमा आएपछि प्रहरीले सोधपुछ गरेर जहाँबाट आएको उतै जान भनेर पठाएको उनले बताए ।  ‘घरमा काम गर्ने मान्छे पनि छैनन्,’ अर्का मजदुर धोके रानाले भने, ‘बाली नलगाए खान पाइन्न । यता काम भएन ।’ उनकै गाउँका रामधिरज रानाले १८ जनालाई यता काममा ल्याएका थिए । एक जना पहिल्यै गए पनि अरू सबै यतै रोकिएका छन् ।

Advertisement

 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उनीहरूको मर्का बुझेको भन्दै आयोजनाले घरमै पुर्‍याइदिए सहजीकरण गर्न सकिने बताए ।

Advertisement

प्रतिक्रिया