नुवाकोटमा लकडाउन : प्रशासन भन्छ कडा, जनता गर्छन उल्लघन

विदुर खबर २०७७ वैशाख ६ गते ८:४७

नुवाकोट । शुत्रबार नुवाकोटको बट्टार चोकमा दुई युवक घरबाट बाहिर सडकमा निस्किए ।

Advertisement

साँझको त्यसमा पनि लकडाउको समयमा खुल्लमखुल्ला त्यसरी हिँडेको देखेपछि प्रहरीले सम्झाउँदै घर पठायो । सोही दिन दिउँसो विदुर चोकमा पनि एकहुल मान्छेसडकमा निस्केको देखियो । तर, त्यहाँ प्रहरीको उपस्थिति नभएकाले उनीहरुलाई सम्झाउने बुझाउने कोही थिएनन् । निर्धक्क घुमे अनि घर फर्किए ।

यी दृश्यले नुवाकोटमा लकडाउन उलंघन हुँदै आएको प्रतिनिधि घटनामात्रै हुन् । जब साँझ हुन्छ मान्छेहरु हुल बाँधेरै सडकमा निस्कने गरेका छन् । प्रहरी आउँदा लुक्ने र अन्य समयमा चोकमै बसेर गफ लगाउँदै बस्ने गरेका छन् । लकडाउन उलंघन प्रायः साँझ र विहानको समय हुने गरेको स्थानीयले नै गुनासो गर्न थालेका छन् ।

Advertisement

बट्टारका गोविन्द श्रेष्ठले गुनासो गर्दै भने दिउँसो खासै मान्छे देखिँदैनन् । तर, साँझ परेपछि सडकमा गफ लगाउँदै हिँड्छन् । सामाजिक दुरी त परको कुरा अंगालो हालेर हिँडेको देख्न सकिन्छ ।’ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण अहिले हरेक गतिविधि थप्प छ । र, सरकारले विभिन्न माध्यमबाट ‘घरमै बसिदिन आग्रह’ गरेको छ ।

तर, नुवाकोटका जनता स्वयंले भने लकडाउनको उलंघन गर्दै बाहिरिरहेका छन् । कोही कुकुर डुलाउँदै हिँडेको देख्न सकिन्छ भने कुनै बजार गएर सामान लिने । ‘गुनासो दिनदिनै आउन थाल्यो । प्रहरी आउने बेलामात्रै लुक्ने र अरुबेला बाहिर निस्कने गतिविधि बढ्न थालेपछि कारबाही पनि बढाएका छौं,’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले भने, ‘यो आग्रह उहाँहरुकै स्वास्थ्यका लागि हो । नागरिकस्तरबाटै बुझ्न जरुरी छ ।’ पक्राउ परेकालाई सार्वजनिक सचेतनासहित छाड्ने गरिएको उनले सुनाए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नुवाकोटले लकडाउन उलंघन गर्ने झण्डै ६ सय जनालाई नियन्त्रणमा लिएर केही समय कोरोनाबारे जनचेतना मुलक जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले जानकारी दिए । त्यस्तै उलंघन गरेको भन्दै २ सय सवारीसाधनलाई कारवाही गरेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया