ओली–दाहालबीच फेरि मनमुटाव

विदुर खबर २०७६ चैत २९ गते ८:१५

नुवाकोट ।पछिल्लोपटक गत मंगलबार बसेको नेकपा सचिवालय बैठकमा अधिकतर सदस्यले भने, ‘दुई अध्यक्षबीच अलि धेरै भेटघाट, सम्पर्क र छलफल हुनुपर्‍यो ।’ सदस्यहरूको यो सुझाव यत्तिकै आएको थिएन ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गराएर फर्किएपछि पातलिएको दुई अध्यक्षको संवाद पछिल्लोपटक एकदमै दुर्लभ बनिरहेको थियो। हुन पनि गत चैत ५ गतेको सचिवालय बैठकदेखि मंगलबारको बैठकसम्मका २० दिनमा अध्यक्षद्वयबीच जम्मा दुईपटक भेटघाट भयो। सचिवालय बैठक बोलाउन आग्रह गर्दै दाहालले गरेका कैयौं फोनकलमा ओलीले सकारात्मक जवाफ दिएनन्। ‘उहाँहरूबीच स्पष्ट पार्नुपर्ने विषय सुरुदेखि नै थुप्रै थिए, कुरा हुन नपाउँदा दुवै अध्यक्ष आआफ्नो बुझाइमा बगेझैं देखिएको थियो,’ एक सचिवालय सदस्यले भने, ‘त्यसैले हामीले छलफल बाक्लो बनाउनुस् भनेर सुझाव दिएका हौं।’

Advertisement

यसको पुष्टि अध्यक्ष दाहालले बिहीबार साँझ इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा गरे। ‘प्रधानमन्त्रीजीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि खुलेर छलफल भएको छैन, खुलेर छलफल गर्नुपर्छ भन्ने मैले ठानेको छु,’ अन्तर्वार्तामा उनले भनेका छन्, ‘उहाँले पनि जरुरी ठानेको छु भन्नुभएको छ, मैले उपयुक्त समय मिलाएर बोलाउनुहोला भनेको छु।’

त्यसक्रममा दाहालले कोभिड–१९ को महामारीविरुद्ध लड्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने धारणा पनि व्यक्त गरे। ‘सबै प्रमुख राजनीतिक दलबीच संरचना बन्नुपर्छ भन्ने लागेको छ, प्रधानमन्त्रीसँग कुरा गरेको छु र सचिवालय बैठकमा पनि सबैलाई लिएर जानुपर्छ भनेर हामीले छलफल गरेका छौं,’ उनले भने, ‘सरकारले सकारात्मक पहल गर्ने विश्वास दिलाएको छ। प्रधानमन्त्रीजीलाई पनि यो दिशातिर सोच्न आग्रह गर्छु।’

Advertisement

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उक्त बैठकमा दलहरूबीच समिति नै नभए पनि एक किसिमको संयन्त्र बन्नुपर्छ भन्ने विषयमा सामान्य कुरा उठेको थियो। उनले आफैंले त्यो कुरा उठाएको उल्लेख गर्दै भने, ‘यसबारे अरू छलफल भएन।’

कान्तिपुरबाट ।

Advertisement

प्रतिक्रिया