कोरोनाले गर्दा नुवाकोट भैरवीको सिन्‍दुरे जात्राको खट उठेन

विदुर खबर २०७६ चैत २७ गते ९:००

नुवाकोट । कोरोना भाइरस (कोभिड १९)का कारण यस वर्ष चैत्र शुक्लपूर्णिमा जालपादेवी मन्दिरमा लगिने भैरवीको खट उठ्न सकेन ।

Advertisement

स्थानीय प्रशासनले जात्रा गर्न रोक लगाएपछि सिन्दुरे जात्राको लागि गत बिहिबार चैत्र शुक्ल नवमीमा सिन्दुरे जात्राको अक्षता उठाउने कार्य रोकिएपछि देवीको विधि रोकिएको थियो । चैत्र शुक्ल नवमीमा अक्षता उठाउने कार्य र बुधबार देवीको खट उठाउने कार्य रोकिएको राजप्रतिनिधि एवं नुवाकोट मौला अमाल प्रमुख द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए।लिच्छविकालीन शक्तिशाली देवी नुवाकोटकी भैरवीदेवीको सिन्दुरे (भैरवी वर्ष बन्धन) अवसरमा चैत्र शुक्ल पूर्णिमाबाट हुने जात्रा रोकिएको शाहीले बताए।

यसअघि भैरवीको सिन्दुरे जात्रा २०११ सालमा राजा त्रिभुवनको निधन भएपछि एक वर्ष रोकिएको थियो। जात्रा स्थगित भएको यो दोस्रो पटक हो। भैरवीको खट बोक्न सूर्यगढी गाउॅपालिका १ लच्याङका गुठियार आउने गरेका थिए। भिडभाडले कोरोनाको संक्रमण हुन नदिन जात्रा रोकिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए। विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम भैरवीथानमा चैत्र शुक्ल चतुर्दशीको दिन धार्मिक विधि अनुसार बुढी भैरवी र भैरवीथानमा लिंगोसमेत उठेन। बिहिबार भैरवीको मुकुटलाई खटमा राखेर पूजा सुरुवात गर्दै धामी र धमिनीसहित नगरपालिकाको वडा नं ५ मा रहेको बहिनी जालपादेवी मन्दिरमा लैजाने गरिन्छ। खट सूर्यगढी गाउॅपालिका १ लच्याङका गुठियार लच्याङवासीले पुर्खौदेखि बोक्दै आएका थिए।

चैत्र पूर्णिमाको दिन खटलाई जलपादेवी मन्दिर पुर्याउने र द्वादशीको दिन नुवाकोटको भैरवीथान मुनि धरमपानी पार्टी ल्याइ भोलिपल्ट भैरवीथानमा पूजाआजा गरेर राजप्रतिनिधि एवं नुवाकोट मौला अमाल प्रमुख द्वारे शाहीले धामी र धमिनीलाई सिन्दुर छर्केपछि सिन्दुरे जात्रा सुरु भएको मानिन्छ।

Advertisement

प्रतिक्रिया