कोरोनाले रोकियो नुवाकोट भैरवीको सिन्दुरे जात्रा


फाईल फोटो ।
नुवाकोट । परापूर्वकालदेखि चलिआएको लिच्छविकालीन शक्तिशाली देवी नुवाकोटकी भैरवीदेवीको सिन्दुरे (भैरवी वर्ष बन्धन) जात्रा रोकिएको छ ।
सिन्दुरे जात्राको थालनीको पहिलो दिन बिहीबार अक्षता उठाउने कार्य रोकिएको हो । चैत्र शुक्ल नवमीबाट जात्रा सुरु हुने राजप्रतिनिधि एवं नुवाकोट मौला अमाल प्रमुख द्वारे महेन्द्रकुमार शाहीले बताए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र धामी हरिमानसिंह डंगोलसँग सल्लाह गरेर जात्रा स्थगित गरिएको उनले जानकारी दिए । भैरवीको सिन्दुरे जात्रा यसअघि २०११ सालमा राजा त्रिभुवनको मृत्यु भएको वर्ष रोकिएको थियो । जात्रा स्थगित गरिएको यो दोस्रोपटक भएको उनले बताए ।
शाहीका अनुसार धेरै मान्छेको भेलाले कोरोना भाइरसको संक्रमण हुने र देशै लकडाउन भएकाले जात्रा नगर्न भनिएकाले जात्रा रोकिएको हो । भैरवीको खट बोक्न आउनुअघि सूर्यगढी गाउँपालिका १, लच्याङका गुठियारले आफ्नो ठाउँमा भैरवीको पूजा गर्थे । उक्त पूजा रोकिएको छ भने देवीघाटकी देवी जालपाको माइती भनिने गणखारका राईले भैरवीमा थाम पूजा गर्थे । त्यो थाम पूजा पनि रोकिएको छ । धेरै भिडभाड र जात्रा नगर्न भनिएकाले रोकिएको हो,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने ।
विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम भैरवीथानमा चैत्र शुक्ल पूर्णिमाको अघिल्लो दिन धार्मिक विधिअनुसार बूढी भैरवी र भैरवी थानमा लिंगो ठड्याउने परम्परा छ । भोलिपल्ट दिउँसो भैरवीको मुकुटलाई खटमा राखेर पूजाविधि गर्दै धामी र धमिनीसहित विनपा– ५ स्थित बहिनी जालपादेवीको मन्दिर लगिन्छ । उक्त खट लच्याङका गुठियारले बोक्छन् ।
चैत्र पूर्णिमाको दिन जालपादेवी मन्दिर पुर्याएर द्वादशीमा भैरवीथानमुनि धरमपानी पार्टी ल्याई भोलिपल्ट भैरवीथानमा पूर्जा विधि गरेर राजप्रतिनिधि शाहीले धामी र धमिनीलाई सिन्दुर छर्केपछि सिन्दुरेजात्रा सुरु हुन्छ ।
प्रतिक्रिया