७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजनाको पीपीए खारेज

विदुर खबर २०७६ चैत १० गते १२:११

नुवाकोट ।  नुवाकोट र धादिङमा निर्माण हुने भनिएको ७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) खारेज भएको छ ।

Advertisement

नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी पीपीएमा भएको व्यवस्था बमोजिम आयोजनाको प्रवर्द्धक कम्पनी सिद्धकाली पावरले लगानी जोहो (वित्तीय व्यवस्थापन) गर्न नसकेको भन्दै सम्झौता खारेज गरिएको जानकारी गराएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्र पनि गत मंसिरमा खारेज गरिसकेको छ । मन्त्रालयले अनुमपति पत्र खारेज गरी आयोजनालाई बास्केटमा राखेको छ ।

प्राधिकरण र कम्पनीबीच २०७३ जेठ २०मा पीपीए भएको थियो । पीपीएको दफा ३८.२मा भएको प्रावधान बमोजिम कम्पनीले २१ महिनाभित्र वित्तीय व्यवस्थापन गर्न नसकेपछि सम्झौता खारेज गरिएको प्राधिकरणले जानकारी दिएको छ । दफा ३८.२मा सम्झौता लागू भएको २१ महिनाभित्र  आयोजनाको वित्तीय व्यवस्थापन समापन भएको विवरणसहितको जानकारी दिनु पर्ने र त्यस्तो विवरण प्राधिकरणमा प्राप्त नभएमा  सम्झौता स्वतः खारेज हुने व्यवस्था छ ।

Advertisement

कम्पनीले २०७४को चैतमा इन्जिनियरिङ, खरीद, निर्माण तथा लगानी  (इपीसीएफ) मोडलमा निर्माण गर्ने चिनियाँ कम्पनी डोङˆयाङ इन्टरनेशनलसँग समझदारी गरेको थियो । तर, यो समझदारीले पनि मूर्त रुप पाउन नसकेपछि आयोजना समस्यामा परेको थियो । आयोजनाको प्रवर्द्धक कम्पनीका मुख्य संस्थापक गुरुप्रसाद न्यौपाने हुन् । उनले आयोजना प्रभावित धादिङ र नुवाकोटका स्थानीय बासिन्दा तथा अन्यसँग सेयर लगानीका लागि भन्दै रकम उठाइसेका थिए ।

आयोजनाको अनुमानित लागत १५ अर्ब ५० करोड रुपैयाँ थियो । त्यसमध्ये ९ अर्ब ८३ करोड रुपैयाँ चिनियाँ कम्पनीले लगानी गर्ने र बाँकी नेपाली लगानीकर्ताबाट जुटाउने गरी समझदारी भएको थियो ।

Advertisement

प्रतिक्रिया