नुवाकोटको फिकुरी अब नयाँ पदयात्रा गन्तव्य

विदुर खबर २०७६ फागुन २४ गते १६:५६

नुवाकोट । राजधानीबाट नजिकै रहेको नुवाकोटको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्यका रुपमा प्रचारमा आएको छ। ३८०० मिटरको उचाईंमा रहेको फिकुरी डाँडाबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, अन्नपूर्ण र गणेश हिमालमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ।

हरिबोधिनी अर्थात् ठूलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेला समेत लागेको लाग्ने गरेको छ। त्यस अवसमा देशका विभिन्न भागबाट हजारौं दर्शनार्थीहरु त्यहाँ जाने गरेका छन्। त्यो अवसरमा त्यहाँ पुग्न सके इच्छाएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ। रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन भ्रमणबाट भर्खरै काठमाडौ फर्केका पदयात्रीहरुले सो ट्रेकिङ ट्रेल नेपालको पहाडी पर्यटनमा एउटा महत्वपूर्ण ट्रेल हुने बताएका छन्। ३८०० मिटर उचाइको फिकुरी डाँडाबाट केही नजिकमा रहेको ढ्वाछाप भेडीखर्कमा पुगेर ५५ जनाको टोलीले ‘क्याम्पिङ’ गरेको थियो।

‘यो ट्रेल इतिहास, प्रकृति र संस्कृतिको संगम हो’,यात्राबाट फर्किएपछि लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवालले भने, ‘नुवाकोटको ऐतिहासिक साततले दरबार, सूर्यगढी, किस्पाङ हुँदै फिकुरी पुगेर रसुवाको ठूलोगाउँ र घलेगढी भएर टुँगिने यो भर्जिन ट्रेलमा तामाङ, गुरुङ, नेवार र ब्राम्हण समुदायको जीवनसंस्कृतिमात्र होइन, परम्परागत कृषि प्रणाली, विछट्टै लाग्ने पहाडी दृश्य, गाउँले जनजीवन र अनेक प्रजातिका चराचुरुङ्गी पनि अवलोकन गर्न सकिनेछ।’

राजधानीबाट सबैभन्दा नजिक रहेको यो ट्रेल छोटो र लामो दुवै खालको ट्रेकिङका लागि पनि उपयुक्त ट्रेक भएको ट्रेकिङ गाइड समेत रहेका सिलवालले बताए। राजधानीबाट जम्मा ९७ किलोमिटर उत्तरपश्चिममा रहेको फिकुरी हुँदै रुबी भ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाईकुन्डको पदयात्रामा जोडिन सकिन्छ।

‘फिकुरे डाँडालाई नयाँ पहाडी गन्तव्यको रुपमा विकास गर्न भ्रमण आयोजना गरेका हौं’, रसुवा–नुवाकोट पर्यटन समाज उपाध्यक्ष शिव लामिछानेले बताए। नेपाल पर्यटन बोर्ड सदस्य एवम् पूर्व टान अध्यक्ष दीपक महतले फिकुरी ट्रेलले विशेष पर्यटकीय सम्भावना बोकेकोले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया