नुवाकोटका ७९ प्रतिशत भुकम्पपिडितले तेस्रो किस्ताको रकम बुझे

विदुर खबर २०७६ फागुन १४ गते १८:००

नुवाकोट । २०७२ सालको भूकम्पबाट पीडित भएर लाभग्राही सूचिमा समावेश भएका नुवाकोटका ७९ प्रतिशतले तेस्रो किस्ताको रकम बुझेका छन्।

जिल्लामा भूकम्प पीडित लाभग्राही सूचिमा ७७ हजार ४२ घरधुरीको नाम समावेश भएको थियो। त्यसमध्ये अहिलेसम्म ७३ हजार एक सय ८३ लाभग्राहीले अनुदान सम्झौता गरेर पहिलो किस्ताको रकम बुझेको बताइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार दोस्रो किस्ता पाउनेको संख्या ९० प्रतिशत अर्थात् ६९ हजार ६ सय १६ परिवार रहेका थिए।

अहिलेसम्म तेस्रो किस्ता रकम बुझ्नेको संख्या ७९ प्रतिशत अर्थात् ६१ हजार ५३ परिवार रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जानकारी दिएको छ। अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार कार्यालयकाअनुसार भूकम्पबाट आंशिक क्षती भएका घरको संख्या एक हजार ६ सय ६२ परिवार रहेकोमा ९ सय ८८ परिवारले सम्झौता गरेर पहिलो किस्ताको अनुदान प्राप्त गरेको बताइएको छ।

जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा वढी निजि आवास पुनर्निर्माण गर्नेमा दुप्चेश्वर गाउँपालिका रहेको छ। आयोजना कार्यान्वयन इकाईको तथ्यांकअनुसार उक्त गाउँपालिकामा रहेका ९० प्रतिशत लाभग्राहीले घर बनाएर दोस्रो किस्ताको रकम पाइसकेका छन्। यस्तै बेलकोटगढी नगरपालिकाले ६८ प्रतिशत, विदुर नगरपालिकामा ७५ प्रतिशत, ककनी गाउँपालिकामा ७६ प्रतिशत, किस्पाङ गाउँपालिकामा ८८ प्रतिशत, लिखु गाउँपालिकामा ७७ प्रतिशत, म्यागङ गाउँपालिकामा ८७ प्रतिशत र पञ्चकन्या गाउँपालिकामा ८२ प्रतिशतको निजि आवास पुनर्निर्माण गरेको तथ्यांकमा उल्लेख छ।

यस्तै शिवपुरी गाउँपालिकाको ७८ प्रतिशत, सूर्यगढी गाउँपालिकाको ८० प्रतिशत, तादी गाउँपालिकाका ८६ प्रतिशत र तार्केश्वर गाउँपालिकाको ८७ प्रतिशतले निजि आवास पुनर्निर्माण गरेको अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिका अध्यक्ष प्रभा वस्नेतले वास्तविक भूकम्प पीडितलाई लाभग्राही सूचिमा जसरी पनि समेट्ने बताएकी छन्। केही वास्तविक पीडितहरू सूचिमा समावेश नभएको भन्दै त्यसका लागि आफूहरूले काम गर्दै आएको उनले प्रष्ट पारिन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले विदुरमा आयोजना गरेको ‘पुनर्निर्माणका सम्बन्धमा समुदायमा न्यायिक अन्तरसम्वाद’ कार्यक्रममा अध्यक्ष वस्नेतले भूकम्प पीडित लाभग्राही सूचिमा पर्नुपर्याे भनेर गुनासा आइरहेकाले अहिले वास्तविक पीडितको पहिचान गर्ने काम भइरहेको जानकारी दिइन्।

प्रतिक्रिया