सूर्य र जनयुद्धमा होइन अल्झन, के हो विवादको जरो ?

विदुर खबर २०७५ वैशाख ४ गते १५:१२

काठमाडौं, ४ वैशाख–सतहमा माओवादीको ‘जनयुद्ध’ र चुनाव चिह्न ‘सूर्य’मा देखिए पनि नेताहरूको भविष्य सुनिश्चितताको प्रश्नले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रिया लम्बिने भएको छ ।

Advertisement

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक स्थानको सुनिश्चितता खोजेका कारण पार्टी एकता प्रक्रिया लम्बिएको एमाले स्रोत बताउँछ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता महाधिवेशनपछि पार्टीको ‘कार्यकारी’ अध्यक्ष र वामपन्थी गठबन्धन निर्माणको समयमा भएको सहमति अनुसार दुइवर्ष सरकारको नेतृत्वको सुनिश्चितता खोजेका छन् ।

Advertisement

माओवादीले खोजेको अर्को सुनिश्चितता संगठनमा ‘सम्मानजनक’ हैसियत हो । नेकपा एमालेले गत मंसिरमा सम्पन्न निर्वाचनमा पाएको मतलाई आधार बनाएर एकताको प्रस्ताव गरिरहेको छ भने माओवादीले बराबरीको आधारमा गर्नुपर्ने अडानमा छ ।

भावी अध्यक्ष प्रचण्ड कि माधव नेपाल ?

Advertisement

पार्टीको आन्तरिक सन्तुलन मिलाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनपछि माधवकुमार नेपाललाई नेतृत्व दिने संकेत यसअघि नै गरेका थिए । सोहीकारण नेपालले ओलीका हरेक कदममा सहयोग र समर्थन गर्दै आएका छन् ।

तत्कालका लागि ओली र प्रचण्ड नै पार्टी अध्यक्ष बन्नेगरी एकता संयोजन समितिको कार्यदलमा सहमति भइसकेको छ । जिल्ला तहमा समेत सामूहिक नेतृत्वको अवधारणा माथि छलफल भएको छ । तर ‘हेवी वेट’ नेताको व्यवस्थापन र उनीहरूले आफ्नो भविष्यको ‘सुनिश्चितता’ खाजेका छन् ।

नेकपा एमाले प्रचार विभागका सचिव विष्णु रिजाल पार्टी एकताजस्तो विषय मन मिलेपछि मात्र हुने भएकोले ढिलाइ भएको देखिएको बताउँछन् । ‘वैशाख ९ मै पार्टी एकता गर्ने भन्ने औपचारिक निर्णय कुनै कमिटीबाट भएको छैन, केही नेताहरूले भनेको मात्र हो,’ रिजालले लोकान्तरसँग भने, ‘धेरै विषयमा सहमति भइसकेको छ, खास विवाद छैनन् ।’

माओवादीको आशंका

गएको माघ मसान्तसम्म पनि नयाँ सरकार गठनअगावै पार्टी एकता गर्नुपर्ने अडान लिएको माओवादी अहिले ‘सम्मानजनक’ एकताको पक्षमा अडान लिएको छ । पार्टी एकताअगावै नयाँ सरकार गठन भइसकेको र प्रधानमन्त्रीले संसदमा विश्वासको मत समेत लिइसकेको अवस्थामा आफ्नो हात तल परिसकेको माओवादीका कतिपय नेताको विश्लेषण छ ।

संविधानमा दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र मधेसकेन्द्रित दलहरूले समेत सरकारलाई समर्थन गरेका कारण प्रधानमन्त्री ओलीको ‘भाउ’ बढेको माओवादीको विश्लेषण छ । सरकारका सचिव सरुवामा प्रधानमन्त्री ओलीले एकलौटी गरेको तथा भारत भ्रमणको विषयमा आफूहरूसँग गम्भीर छलफल नगरेको भन्दै माओवादी सशंकित देखिएको छ ।

मुख्य सत्तासाझेदार आफ्नो पार्टीलाई सचिव सरुवामा पूरै उपेक्षा गरिएकोमा रुष्ट माओवादीले अहिले सम्मानजनक एकताको कुरा जोडजोडका साथ उठाएको छ । ‘माओवादीले छाडे मधेसकेन्द्रित दलहरूले सरकारको काँध थाप्छन् भन्ने प्रधानमन्त्रीको मनोविज्ञानले काम गरेको छ,’ माओवादी स्रोत भन्छ ।

एकलौटी ढंगले सचिव सरुवा गरिएको भन्दै माओवादी केन्द्रका मन्त्रीहरूले ओली भारत भ्रमणमा रहेको समयमा ‘गोप्य’ भेला गरेका थिए ।

भातृ संगठन योङ कम्युनिष्ट लिगले सम्मानजनक ढंगले मात्र पार्टी एकता गर्न प्रचण्डलाई दबाब दिएको थियो । माओवादी नेता मणि थापाका अनुसार सम्मानजनक एकता गर्नुपर्छ भन्नेमा पार्टीका अधिकाशं नेता कार्यकर्ताको समान धारणा छ ।

माओवादीले १० वर्षे सशस्त्र ‘जनयुद्ध’को सम्बोधन र संगठनमा बराबरीको सिद्धान्त लागू गर्नुपर्ने अडान लिएको छ । एमालेको भन्दा माओवादीको केन्द्रीय समिति र पोलिटव्यूरो ठूलो छ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले केही समय पहिले भनेका थिए, ‘पार्टी एकता गाई गोठालाले काँध मिलाएजस्तो सझिलो छैन ।’

बाहिर प्राविधिक विषय दखिए पनि पार्टी एकताका लागि मुख्य समस्या ‘हेवी वेट’ नेताहरूको व्यवस्थापन नै रहेको एमाले र माओवादी नेताहरू स्वीकार्छन् । ‘अतित भइसकेको जनयुद्ध शब्द राख्न एमालेलाई आपत्ति छैन,’ एमालेका एक केन्द्रीय सदस्य भन्छन् ।

प्रतिक्रिया