पर्यटकहरुलाई स्वागत गर्न नुवाकोट आतुर, यस्ता छन् नुवाकोटका पर्यटकीय गन्तव्य

विदुर खबर २०७६ माघ ४ गते २१:१६

नुवाकोट । भिजिट नेपाल ट्वान्टी ट्वान्टीका लागि नुवाकोटले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पहल थालेको हो ।

Advertisement

पर्यटन वर्ष २०२० लाई सफल पार्न र ऐतिहासिक नुवाकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउन यतिखेर नुवाकोट लालायित भएको छ । त्यसैको तयारीमा यतिखेर नुवाकोट प्रादेशिक सरकार तथा स्थानीय निकाय, स्थानीय होटल तथा पर्यटन व्यवसायीहरु एकजुट भएका छन् । राजधानी काठमाडौँसँग जोडिएको जिल्ला तर प्राकृतिक, सांस्कृति एवं धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण नुवाकोट पर्यटकीय दृष्टिकोणले अब्बल रहेको भन्दै यसको प्रचार प्रसार र प्रवद्धर्नमा लाग्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

पृथ्वी नारायण शाहले नेपाल एकीकरणको पहिलो सुरुवात नुवाकोट जिल्लाबाटै गरेका थिए । पहिलो र दोस्रो आक्रमणबाट पराजित भएका शाहले तेस्रो पटक वि.सं. १८०१ मा आक्रमण गरी नुवाकोटमाथि विजय हासिल गरेका थिए । जितपछि नुवाकोटमा दरबार बनाई पृथ्वी नारायण शाहले गोरखा र नुवाकोटलाई राजधानी बनाएका थिए । २४ वर्ष नुवाकोटबाटै राज्य सञ्चालन गरेका थिए । पछि यही दरबारबाट काठमाडौँ, कीर्तिपुर लगायत अन्य राज्यहरुको आक्रमणको योजना बनाई शाहले राज्य एकीरण गर्दै अएका थिए । हालसम्म पनि नुवाकोटमा पृथ्वी नारायण शाहले निर्माण गरेको सात तले दरबार पुरानै अवस्थामा रहेको छ । जुन दरबार अहिले पुनर्निर्माणको चरणमा छ ।

Advertisement

यता नुवाकोट जिल्ला, स्थानीय तह विदुर नगरपालिका, उद्योग वाणिज्य सङ्घ, व्यापार व्यवसायी लगायत अन्य निजी क्षेत्रहरुले समेत समग्र नुवाकोटको पर्यटन प्रवद्र्धनमा सडक पूर्वाधार नै प्रमुख चुनौती विषय भएको औँल्याएका छन् । यो समस्याको शीघ्र व्यवस्थापन हुनुपर्नेमा उनीहरुको जोड रहेको छ ।

नुवाकोटका प्रमुख पर्यटकीय गन्तव्यहरु
नुवाकोट दरबार क्षेत्र
नुवाकोट सात तले दरबार नुवाकोटको एक महत्त्वपूर्ण चिनारी हो । वि.सं. १८०१ मा नुवाकोट विजय गरेपश्चात आफ्नो एकीकरणलाई निरन्तरता दिने उद्देश्यले तात्कालीन राजा पृश्वीनारायण शाहले ललितपुरका कालीगढहरुको सहयोग लिई यो दरबारको निर्माण गरेका थिए । निकै कलात्म तरिकाले निर्माण गरिएको विशाल नौतले दरबार आज पनि वास्तुकलामा देशै अनुपम नमुना मानिन्छ । पहिले नौ तलामा रहेको यो दरबार वि.सं १९९० सालको महाभूकम्पले क्षति पुर्याई सात तलामा सीमित भएको थियो । हाल वि.सं. २०७२ सालमा आएको विनासकारी महाभूकम्पले यो दरबारलाई पुनः क्षति पुर्याएको छ । अहिले यसको पुनर्निर्माण कार्य भइरहेको छ ।

Advertisement


यस क्षेत्र पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण रहेको छ । यस दरबारको वरपर भक्तपुरे राजाको दरबार, ललितपुरे राजको दरबार, शीतलपाटी, कोतघर जस्ता विभिन्न दर्शनीय स्थलहरु छन् । यस क्षेत्रमा रहेको मल्लकालीन रङ्गमहल दरबार पनि यस क्षेत्रको थप आकर्षण हो ।
बेलकोटगढी
नुवाकोटको ऐतिहासिक स्थलहरुमध्येको एक हो बेलकोटगढी । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोटमाथि आक्रमण गर्नका लागि यो गढीको निर्माण गरेका थिए । पृथ्वीनारायण शाहले तत्कालीन बेलकोटका राजा जयन्त रानालाई काटेर सो ठाउँमा जयन्तको शरीरलाई गाडी गढीमै उनको सम्झना र चिर शान्तिको लागि काठको मौलो गाडेका थिए । सो मौलो आजसम्म पनि देख्न सकिन्छ । हाल यो गढीलाई चारैतिर ढुङ्गाको पर्खाल लगाएर माथिल्लो भागको मध्य भागको मध्यभागमा श्री निरञ्जना भगवती मन्दिर स्थापना गरिएको छ ।

दुप्चेश्वर महादेव
दुप्चेश्वर महादेव नुवाकोट जिल्ला सदरमुकामदेखि करिब ४० किमि उत्तरपूर्वमा पर्छ ।  धार्मिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण यस मन्दिरमा दर्शन गरेपछि निःसन्तान दम्पतीको सन्तान हुने र मनोकामना पूरा हुने जनआस्था रहेको छ । यहाँ हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन विशाल मेला लाग्ने गर्छ । उक्त रात यस मन्दिरमा जिल्लाभित्र र जिल्लाबाहिरका भक्तजनहरुको भीड लाग्ने गर्छ ।
सागरकुण्ड
समुद्र सतहदेखि २९१५ (दुई हजार नौ सय पन्ध्र) मिटर उचाइमा पर्ने सागरकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो । काठमाडौँदेखि बूढानीलकण्ठ हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने यस कुण्डको पर्यटकीय आकर्षण भनेको यस कुण्डमा न त कतै पानीको स्रोत भेटिन्छ न त कुनै निकास नै । जनैपूर्णिमाको दिन गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरु यस कुण्ड गए उत्तिकै फल मिल्ने जनआस्था रहेको छ ।
ककनी
राजधानी काठमाडौँदेखि जम्मा २७ किलोमिटरको मात्र दूरीमा रहेको ककनी पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिन्छ । यो क्षेत्र प्राकृतिक सौन्दयले भरिपूर्ण छ । समुद्र सतहदेखि करिब २०३० किमिको उचाइमा रहेको ककनी यस जिल्लाकै थोरै रमणीय प्राकृतिक सम्पदाहरुमध्ये पर्छ । उच्च भूवनोटको कारणले यस स्थानबाट नुवकोट जिल्लाको लिखु फाँट लगायत थुप्रै होचा भूभागहरुका साथै लाङ्टाङ, गौरीशङ्कर, मनास्लु, गणेश हिमाललगायत थुप्रै हिमशृङ्खलाहरुको देख्न सकिन्छ । यस क्षेत्रमा हिउँदमा पिकनिक जाने र रमाइलो जमघठहुनेहरुको भीड लाग्ने गर्छ ।

त्यस्तै, अन्यमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिएको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा शिवपुरीमा अवस्थित सूर्यचौर, चिम्टेश्वर, भैरमकोट, भैरवी मन्दिर, बेत्रावतीको उत्तरगयाधाम, देवीघाटको जालपा मन्दिर, राम मन्दिर रहेका छन् । सांस्कृतिक रीतिरिवाज र चालचलनमा समेत नुुवाकोट सम्मपन्न रहेको छ । यहाँ मनाइने गाईजात्रारलाखे नाच, सिन्दुरेजात्रा, माघेसङ्क्रातिको गोरु जुधाउने जात्रा लगायतका पर्वहरु समेत प्रख्यात छन् ।

रातोपाटीको सहयोगमा

प्रतिक्रिया