नुवाकोटमा चालुआर्थिक वर्षमा ४२ जना हराए, २८ भेटिए, १४ अझैं बेपत्ता

विदुर खबर २०७६ माघ २ गते २०:०४

विदुर – नुवाकोटबाट चालु आवको मङ्सिरमसान्तसम्ममा ४२ जना हराएको छ । प्रहरीको तथ्यांकअनुसार हराएकामा महिला बढी रहेका छन् । हराउनेमा महिला ३६ जना रहेका छन् भने २ बालक र ४ बालिका जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार हराएका मध्ये प्रहरीद्वारा ५, आफन्तले खोजी गरि पत्ता लगाएकोमा १५ र आफै घर फर्केकोमा ७ जना रहेका छन् । अझैं १२ महिला, १ बालक र १ बालिका नभेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीको तथ्यांकअनुसार आव २०७१/०७२ देखि २०७६/०७७ सम्मको छ वर्षमा ६३७ जना हराए । दुई नगरपालिकाबाट १६२ र १० गाउँपालिकाबाट ४७५ जना हराए । विदुर नगरपालिकाबाट ८५ र बेलकोटगढी नपाबाट ७७ जना हराए। गाउँपालिकाहरु ककनीबाट ३५, किस्पाङबाट ४५, तादीबाट ६५, तारकेश्वरबाट ३५ र दुप्चेश्वरबाट ७०, पञ्चकन्याबाट ८१, लिखुबाट ४५, म्यागङबाट ३५, शिवपुरीबाट ३४ र सुर्यगढीबाट ३० जना हराएका थिए । हराएकामध्ये ३८० महिला, ४७ बालक र १२२ बालिका मात्रलाई फेला पार्न सफल भएको प्रहरीले जनाएको छ ।

तथ्यांकअनुसार हराउनेमा बढी मात्रामा १९ देखी ३० वर्ष उमेर समूहका युवायुवतीहरु २२० जना रहेका छन् । त्यस्तै, उमेर १८ वर्षसम्मका १८०, उमेर ३१ देखी ५० वर्षसम्मको १८७ र उमेर ५१ देखी ७० उमेरसम्म ५० जना रहेका छन् । जातीयको आधारमा हराउनेमा जनजाती २४५, दलित १८३, क्षेत्री, ९८ ब्राहमण ७६  र अन्यमा ३५ जना रहेका छन् । त्यस्तै,  सामाजिक संजालको विकृतीबाट हराउनेमा १६१ जना बढी रहेको छ भने ११७ जना साथीको संगतमा लागेर घर छाडेका छन् ।

गत वर्ष १५२ जना हराए, १३५ फेला र अझैं १३ बेपत्ता

प्रहरीले गत आर्थिक वर्ष २०७५/०७६ मा १५२ जना हराएकोमा १०३ महिला, १३ बालक र ३६ बालिका हराएको जनाएको छ । हराएकामध्ये ९७ महिला, १३ बालक र ३४ बालिकालाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको थियो भने ६ महिला र २ बालिका अझैं बेपत्ता छन् । तथ्यांकअनुसार विगत ६ वर्ष (आव २०७१/७२ देखि २०७६/०७६) मङ्सिरमसान्तसम्ममा ६३७ हराएका थिए भने ५४९ जनालाई मात्र प्रहरीले फेला परेका छन् । हराएकामध्ये ८८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हराउँदा जानकारी, फेला परेपछि बेवास्ता

महिला, बालक र बालिका हराएको भन्दै प्रहरीलाई जानकारी गराए पनि फेला परेपछि वेवास्ता गर्दा तथ्यांक बढी देखिने गरेको प्रहरीले जनाएको छ ।

महिला सेलका सुकु तामाङका अनुसार मानिस हराएपछि प्रहरी कार्यालयमा आफन्तले निवेदन दर्ता गर्दै जानकारी दिए पनि फेला परेपछि बेवास्ता गरेका कारण तथ्यांकमा हराएकै सूची कायम रहने बताउनु भयो ।

डबली खबरबाट

Advertisement

प्रतिक्रिया