आधुनिकताको नाममा पृथ्वीनारायण शाहलाई बिर्सन हुन्न : नेता केसी

विदुर खबर २०७६ पुष २७ गते १९:२४

नुवाकोट । पृथ्वीनारायण शाह नेपालको एक इतिहास भएकोले मेट्ने प्रयास गर्न नहुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएका छन्।

नुवाकोटको विदुरमा रहेको पृथ्वी माध्यामिक विद्यालयको ४५औँ वार्षिक उत्सव कार्यक्रलाई संवोधन गर्दै नेता केसीले टुक्राटुक्रा राज्यमा विभाजित भएको नेपाललाई एकतामा बाध्न सफल व्यक्तित्वको रुपमा पृथ्वीनारायणलाई चिनिने भएकोले आधुनिकता, परिवर्तन र क्रान्तिको नाममा राज्यले बिर्सन नहुने बताए।

शाहले नेपाल एकीकरणमा पुर्‍याएको योगदान बिर्सन नहुने भन्दै नेता केसीले भने, ‘पृथ्वीनारायण शाह हाम्रो इतिहास हो। तर उहाँको जन्म जयन्तीलाई राज्यले राष्ट्रिय पर्वको रुपमा मनाउनुको सट्टा अपहेलना गर्दैछ। यो राष्ट्रपतिको बेइमानी हो,’ नेता केसीले भने, ‘पुर्खाले देशको लागि गरेको योगदानलाई हामीले बिर्सने हो भने हाम्रो योगदानलाई सन्तानले सम्झिरहनु पर्छ भन्ने छैन। इतिहास दोहोरिरहन्छ। सत्तामा हुँदा होस् या नहुँदा म सधै उहाँको इतिहासलाई मेट्न हुन्न भनेर आवाज उठाइरहनेछु।’

राज्यले गणतन्त्रलाई लुटतन्त्रमा परिणत गरिदिएको केसीको आरोप छ। घुस लिने र दिने दुवै राष्ट्रको शत्रु हुन् भनिएता पनि संघिय सरकारदेखि स्थानीय तहको वडा तहले भष्ट्राचारलाई प्राथमिता दिइरहेको नेता केसीको आरोप छ। केसीले भने, “नेपाली काँग्रेसको होस् या अन्य कुनै पार्टीको होस्, आर्थिक हिनामिना गरेको सुइको पाएमा फसाउनको लागि होइन निष्पक्ष छानबिन गरेर कानुनी दायरामा ल्याउनु आवश्यक छ।”

भक्तजनहरु जुत्ताचप्पल निकालेर जसरी मन्दिरभित्र प्रवेश गर्छन् उसैगरी विद्यालयको हाताभित्र राजनैतिक गन्धलाई भित्र्याउन नहुने नेता केसीको भनाइ छ।

यस्तै दुई सय ९८ औँ पृथ्वीजयन्तीको अवसरमा नुवाकोटमा छुट्टाछुट्टै दुई कार्यक्रम भएका छन्। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन गठित मूल समारोह समिति नुवाकोटको आयोजनामा साततले दरवार परिसरमा र पृथ्वी स्मारक संरक्षण समितिले विदुर नगरपालिका–५ देविघाटमा विशेष कार्यक्रम गरेको छ।

ती कार्यक्रममा सहभागी सरोकारवालाहरुले राष्ट्रिय एकतालाई कायम राख्न पृथ्वीजयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने आवाज उठाएका छन्। विशाल नेपाल एकीकरण तथा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई पालना गर्न सके राज्य सञ्चालन समस्याग्रस्त अबस्थामा नपुग्ने कार्यक्रमका वक्ताहरुले बताएका छन्।

नेपाल एकीकरणको अभियान सुरुवात गर्दै बिजयी हासिल गरी २५ वर्षसम्म नुवाकोटको साततले दरबारबाट राज्य सञ्चालन गरेको र पृथ्वीनारायण शाहको मृत्यु  पनि नुवाकोटको देविघाटमा भएको भन्दैै सम्मान स्वरुप जिल्लाको विदुर नगरपालिका र सूर्यगढी गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो।

नागरिक न्युजबाट

Advertisement

प्रतिक्रिया