नारायणगढ–मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइने

चितवन, १५ चैत – नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ ढंगबाट निर्माण योजना तयार गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री नियुक्त भई कार्यप्रारम्भ गरेका दिन विश्व बैंकसँग ती पुलका लागि बजेट माग गर्ने फाईलमा पहिलो हस्ताक्षर गरेका थिए ।
सडक विभागका उपमहानिर्देशक एवं वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले मन्त्री महासेठले विशेष महत्व राखेर हस्तक्षर गरेकाले ती पुललाई नक्सांकनसहित निर्माण गर्ने गरी ठेक्का दिने तयारी गरिएको बताए । श्रेष्ठले असारभित्रमा विश्व बैंकसँग सम्झौता सम्पन्न गरी काम अगाडि बढाईने बताए । उनले भने “यी पुल एक वर्षभित्रमा सम्पन्न गर्नेछौं ।”
केही ठाउँमा भित्तो काटेर पुल बनाउनु पर्ने भएपनि महत्वपूर्ण सडक भएकाले छिटो सम्पन्न हुने गरी काम गरिने उनले बताए ।
एकिन अहिले नै भन्न नसकिने भए पनि झण्डै दुई अर्ब रुपैयाँ लागत लाग्ने अनुमान रहेको पनि उपमहानिर्देशक श्रेष्ठले बताए ।
प्रतिक्रिया