सभामुख छाड्न दाहालले मागे प्रधानमन्त्री

विदुर खबर २०७६ पुष २४ गते १०:१८

सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ।

Advertisement

भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए। सहभागी नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन्। तर, बुधबार साँझ २ घण्टा भएको छलफलमा ओली स्वयं र उनी पक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन्। सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन्।

नेकपामा सभामुख चयन सकसपूर्ण बन्दै गएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा छन्। यसबारे मंगलबार बेलुकी र बुधबार बिहान बालुवाटारमा भएका छलफल पनि निचोडमा पुग्न सकेनन्।

Advertisement

त्यसअघि सोमबार सिन्धुपाल्चोक ‘रिफ्रेसमेन्ट’ मा जानुअघि दाहालले बालुवाटारमै भेटेर प्रधानमन्त्री ओलीलाई सभामुख छाड्न नसक्ने बताएका थिए। स्रोतका अनुसार दाहालले सभामुख पूर्वएमाले समूहलाई छोड्दा प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रस्ताव गरेको स्रोत बताउँछ।

‘सभामुख छोड्न सकिन्छ, तर त्यसका लागि तपाईं (ओली) ले प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष भई पार्टी चलाउनुहोस्, म प्रधानमन्त्री हुन्छु,’ दाहालले ओलीसँग प्रस्ताव गरेका थिए। उनले यो विषयको जानकारी गौतम निवासमा भएको छलफलमा पनि नेताहरूलाई सुनाएको स्रोत बताउँछ।

Advertisement

प्रतिक्रिया